स्थानीयले दान गरेको जग्गामा ठडियो फलेवासको भव्य भवन: ९ करोड २ लाखमा निर्माण सम्पन्न
पर्वत –पर्वतको फलेवास नगरपालिकाले आफ्नै भव्य र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ। सङ्घीय सरकार र नगरपालिकाको संयुक्त लगानीमा करिब ९ करोड २ लाख रुपैयाँको लागतमा ४२ कोठे अत्याधुनिक भवन निर्माण भएको हो।
नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार, फलेवास–५ झकलकस्थित स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको ६० रोपनी ८ आना जग्गामा यो चारतले भवन ठडिएको छ। भवन निर्माणका लागि सङ्घीय सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने बाँकी ५० प्रतिशत खर्च नगरपालिका आफैँले व्यहोरेको छ।
नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हाल रङरोगन, झ्याल–ढोका जडान र भित्री साजसज्जाको काम सकिइसकेको छ भने विद्युत् ‘वाइरिङ’ गर्ने काम धमाधम भइरहेको छ। आफ्नै भवन नहुँदा भाडाका वा साँघुरा कोठाबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ।
नगरप्रमुख गङ्गाधर तिवारीले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। “भवनको प्राविधिक कामहरू सकिनेबित्तिकै हामी यथाशीघ्र नयाँ ठाउँबाट सेवा सुरु गर्नेछौँ,” तिवारीले भने। स्थानीयले ठुलो परिमाणमा जग्गा दान गरेपछि नगरपालिकालाई एकीकृत रूपमा सबै शाखा एउटै छानामुनि ल्याएर सेवा दिन सहज हुने देखिएको छ।
भवन निर्माण सम्पन्न भएसँगै फलेवासका नागरिकले अब एउटै भवनबाट छिटो र छरितो सेवा पाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया