मन्त्रिपरिषद् बैठकका निर्णय: मन्ट्रियल अभिसन्धि स्वीकृत, सशस्त्रका डीआईजी पोखरेल एआईजीमा बढुवा (सूचीसहित)

काठमाडौँ-सरकारले ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम अन्तर्गत रहेको मन्ट्रियल अभिसन्धिको कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै नेपालले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय सुरक्षाको क्षेत्रमा आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

बैठकले सुरक्षा निकाय र भूमि व्यवस्थापनका क्षेत्रमा समेत महत्वपूर्ण नियुक्ति तथा निर्णयहरू गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

यसैगरी, सरकारले भूमि समस्या समाधानका लागि नयाँ नेतृत्व चयन गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा ‘भूमि समस्या समाधान समिति’को अध्यक्ष पदमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ। समितिको सदस्यहरूमा अमिर प्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा. रेहना श्रेष्ठ (काठमाडौँ) लाई नियुक्ति गरिएको छ।

बैठकले विगतको आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित समितिको म्याद समेत थप गरेको छ। संवत् २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसक्रममा घटेका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनमाथि अध्ययन गर्न बनेको समितिको कार्यावधि ४५ दिन थप गरिएको छ। उक्त प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको पाटोलाई सुक्ष्म रूपमा अध्ययन गरी सिफारिस गर्न यो समितिको म्याद थपिएको हो।

प्रतिक्रिया

TOP