नेपाल–भारत सीमा विवाद दुवैतर्फबाट भएको छ, ‘टेबल टक’बाटै समाधान गर्छौँ: प्रधानमन्त्री बालेन शाह
काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल र भारतबिचको सीमा विवाद एकतर्फी मात्र नभएर दुवैतर्फबाट भएको दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूभाग मिचेको उल्लेख गर्दै संसद्मा नयाँ बहसको तरङ्ग पैदा गरिदिएका हुन्।
श्रम संस्कृति पार्टी र नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारत र चीनले व्यापारिक सडक तथा भौतिक संरचना बनाएको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो खुलासा गरेका हुन्।
‘प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ’
संसद्को रोष्टमबाट सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ, जुन कुरा मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ। सीमा विवाद केवल भारतले हाम्रो मिचेको मात्र होइन रहेछ, नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ। यो आपसी मिचाहा प्रवृत्तिको विषय हो।” यद्यपि, प्रधानमन्त्री शाहले नेपालले भारतको कुन-कुन ठाउँमा कति जग्गा मिचेको छ भन्नेबारे स्पष्ट स्थान र तथ्याङ्क भने खुलाएनन्।
कूटनीतिक संवाद र ‘टेबल टक’बाटै निकास
प्रधानमन्त्री शाहले नेपाल र भारतबिचको यो ऐतिहासिक तथा संवेदनशील सीमा विवादलाई ‘साथी-साथी’को रूपमा सौहार्दपूर्ण वातावरणमा टेबल टकमार्फत समाधान गरिने दृढता व्यक्त गरे। “हामी दुवै देश मिलेर यसको अध्ययन गर्छौँ, र साथीको हिसाबले टेबल टक र कूटनीतिक संवादबाटै यो समस्याको दीर्घकालीन निकास खोज्छौँ,” प्रधानमन्त्री शाहले भने।
लिपुलेक र लिम्पियाधुराको व्यापारिक मार्गका विषयमा नेपाल सरकारले यसअघि नै भारत सरकारलाई औपचारिक कूटनीतिक ‘नोट’ पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको संसद्लाई जानकारी गराइयो। भारतको जवाफमा दुवै देशका इतिहासविद्, नापी विज्ञ (सर्भेयर) र भूमिसम्बन्धी जानकारहरूलाई एकै ठाउँमा राखेर संवाद मार्फत समस्या सुल्झाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो।
बेलायतसँग पनि छलफल
नेपाल–भारत सीमा विवादको जड तत्कालीन ब्रिटिस इन्डिया कालसँग जोडिएकाले यस विषयमा नेपाल सरकारले बेलायत सरकारसँग पनि कुरा उठाएको प्रधानमन्त्री शाहले खुलासा गरे। “ब्रिटिस इन्डियाले भारत छोडेको समयदेखिको समस्या अहिलेसम्म बल्झिरहेको हुँदा यसमा इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ र यसको ऐतिहासिक जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो मान्यता हो,” उनले भने।
विगतका सरकारहरूले सीमाको विषयमा केवल राजनीतिक नारा मात्र बनाएको आरोप लगाउँदै वर्तमान सरकार तथ्य, प्रमाण र कूटनीतिक मर्यादाका आधारमा टेबल टकमै बसेर दुवै देशको हित हुने गरी निकास निकाल्न पूर्ण प्रतिबद्ध रहेको दाबी प्रधानमन्त्रीले गरे।









प्रतिक्रिया