बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ कानुन ल्याउने सरकारको घोषणा स्वागतयोग्य: गीतकार एवं अधिवक्ता शशी शर्मा मजगैयाँ
काठमाडौँ-सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ कानुन छिट्टै लागू गर्ने घोषणा गरेकोमा अधिकारकर्मी तथा सरोकारवालाहरूले स्वागत गरेका छन्। लामो समयदेखि गीत लेखनमा सक्रिय रहनुका साथै बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको क्षेत्रमा वकालत गर्दै आएका गीतकार एवं अधिवक्ता शशी शर्मा मजगैयाँले सरकारको यो कदमलाई ऐतिहासिक भन्दै स्वागत गरेका हुन्।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिवक्ता मजगैयाँले बौद्धिक सम्पत्ति पनि देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने महत्वपूर्ण क्षेत्र भएकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउनु अपरिहार्य रहेको बताए। अब केवल भौतिक सम्पत्ति मात्र नभएर, देशको आर्थिक विकासमा ठूलो महत्त्व राख्ने “बौद्धिक पूँजी” ले पनि पूर्ण कानुनी सुरक्षा पाउने विश्वास उनले व्यक्त गरे।
“यो नयाँ कानुनले स्पष्ट मार्गनिर्देशन गर्दै विगतका सबै नीतिगत कमजोरी र कानुनी छिद्रहरूलाई सधैँका लागि बन्द गरिदिनेछ,” अधिवक्ता मजगैयाँले भने, “जसका कारण अरूको सिर्जना, श्रम र बौद्धिक सम्पत्ति हरण गर्ने माफियाहरू अब कानुनको कठघरामा उभिन बाध्य हुनेछन्।”
बौद्धिक सम्पत्तिका धनी तथा स्रष्टाहरूले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न ठूलो योगदान दिइरहेको चर्चा गर्दै उनले स्रष्टाहरूको हकहितका लागि राज्य जिम्मेवार बन्नु गौरवको विषय भएको उल्लेख गरे।
अदालती अभ्यासमा समेत बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार सम्बन्धी मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ हेर्दै आएका अधिवक्ता मजगैयाँले बौद्धिक सम्पत्तिको रक्षाका लागि आफ्नो अभियान निरन्तर जारी रहने र नयाँ कानुनका हरेक दफाहरूलाई व्यवहारमा उतार्न आफूहरूको पूर्ण सहकार्य रहने प्रतिबद्धता जनाउँदै नेपाल सरकारलाई विशेष धन्यवाद समेत दिएका छन्।












प्रतिक्रिया