रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु, दुई दिनमा ६५ जिल्लामा नेतृत्व चयन हुँदै

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक सुदृढीकरण अभियानअन्तर्गत देशव्यापी जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार जेठ २३ र २४ गते देशभरका अधिकांश जिल्लामा अधिवेशन आयोजना गरिएको हो।

रास्वपाका केन्द्रीय सदस्य आरके ढुङ्गाना का अनुसार  शनिबार जेठ २३ गते देशभरका ३८ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ भने  आइतबार जेठ २४ गते थप २७ जिल्लामा अधिवेशन हुने कार्यक्रम तय गरिएको छ।

पार्टीका अनुसार पहिलो चरणमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अधिवेशन सम्पन्न हुनेछन्। संगठनात्मक विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ।

रास्वपाले जारी गरेको तालिकाअनुसार राष्ट्रिय महाधिवेशनअघि नै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यससँगै पार्टीको मुख्य संगठनात्मक संरचना अधिकांश जिल्लामा पूर्ण हुने अपेक्षा गरिएको छ।

पार्टीले बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः सम्पन्न गर्ने जनाएको छ।

प्रदेश अधिवेशनको तयारी पनि तीव्र

रास्वपाले जिल्ला अधिवेशनसँगै प्रदेश अधिवेशनको तयारीलाई समेत अगाडि बढाएको छ। पार्टीका अनुसार जेठ २६ गतेदेखि सातै प्रदेशका अधिवेशन सुरु हुनेछन्। पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट प्रारम्भ गरिने तयारी रहेको छ।

पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनलाई आगामी राष्ट्रिय महाधिवेशनको आधारशिला मान्दै संगठन विस्तार, नेतृत्व चयन तथा नीति निर्माण प्रक्रियालाई थप संस्थागत बनाउने उद्देश्य राखेको जनाएको छ।

रास्वपाले आफ्नो स्थापना पश्चात् पहिलो पटक देशव्यापी रूपमा जिल्ला र प्रदेश तहका अधिवेशन सञ्चालन गर्न लागेको भन्दै यसलाई संगठन निर्माणको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया

TOP