समावेशी दृष्टि: काठमाडौँमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको आँखा जाँच सम्पन्न
काठमाडौँ- समावेशी स्वास्थ्य सेवातर्फ एक महत्त्वपूर्ण कदम चाल्दै, नेपाल डाउन सिन्ड्रोम संघले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूका लागि एक विशेष “आँखा शिविर” सफलतापूर्वक सम्पन्न गरेको छ।
दुई दिन (पहिलो दिन: माघ २४ र दोस्रो दिन: फागुन २, २०८२) सम्म चलेको यस शिविरमा ५७ जना डाउन सिन्ड्रोम भएका व्यक्तिहरूले विस्तृत आँखा परीक्षण सेवा प्राप्त गरे। यस अभियानमा १ वर्षका बालकदेखि ४६ वर्षका वयस्कसम्मको सहभागिता रहेको थियो, जसले कार्यक्रमको वृहत् पहुँचलाई दर्शाउँछ। स्रोत साधनको अभाव र अन्य सीमितताका कारण लक्ष्य अनुसार १०० भन्दा बढीलाई सेवा दिन नसकिए तापनि उपलब्ध सहभागीहरूलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गरिएको थियो।
शिविरको नेतृत्व वरिष्ठ नेत्र विशेषज्ञ प्रो. डा. राजु कैती र डा. मनिष दाहाल सहितको समर्पित टोलीले गरेको थियो। डाउन सिन्ड्रोम भएका व्यक्तिहरूमा दृष्टि सम्बन्धी समस्या हुने सम्भावना तथ्याङ्कीय रूपमा बढी हुने भएकाले चिकित्सकहरूले उनीहरूको विशिष्ट शारीरिक आवश्यकताहरूमा विशेष ध्यान दिएका थिए। डाउन सिन्ड्रोम भएका व्यक्तिहरू निकै संवेदनशील हुने र उनीहरूलाई सामान्य मानिसभन्दा बढी हेरचाह चाहिने भएकाले प्रत्येक बिरामीको परीक्षणका लागि ३० देखि ४५ मिनेट सम्म समय छुट्याइएको थियो।
सहभागीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै “बृहत् आँखा परीक्षण” गरिएको थियो। शिविरमा चश्माको आवश्यकता पहिचान गर्न ‘अपवर्तन परीक्षण’ गरियो, किनकि यो समूहमा अदूरदृष्टि वा दूरदृष्टिको समस्या उच्च हुन्छ। त्यसैगरी, मोतिविन्दु जस्ता समस्या पत्ता लगाउन ‘अकुलर सेगमेन्ट मूल्याङ्कन’ र दुवै आँखाको समन्वय तथा सन्तुलन हेर्न ‘बाइनोकुलर भिजन मूल्याङ्कन’ समेत गरिएको थियो। प्रत्येक सहभागीको निदानको आधारमा छुट्टाछुट्टै उपचार र व्यवस्थापन योजना तयार पारिएको थियो।
परीक्षणका क्रममा सहभागीहरूमा दृष्टि समस्याहरूको उच्च चाप फेला परेको छ। कुल सहभागीमध्ये १५ जनामा मोतिविन्दु देखिएको छ भने ३० जनालाई अनिवार्य चश्मा लगाउन सुझाव दिइएको छ। ५ जनामा आँखाको विचलन र ७ जनामा नाइस्टाग्मस को समस्या पाइयो। यस्तै, केही सहभागीहरूमा आँसु नली अवरोध (NLDO), परेलाको सुजन र मेइबोनियन ग्ल्यान्ड डिसफंक्शन (MGD) जस्ता समस्याहरू पहिचान गरी सोही अनुसारको उपचार पद्धति सुझाइएको छ। १३ जना सहभागीको आँखाको अवस्था सामान्य पाइएको छ।
प्रगतिका लागि साझेदारी र प्रतिबद्धता
सन् २००६ देखि अभिभावक र शुभेच्छुकहरूद्वारा स्थापित नेपाल डाउन सिन्ड्रोम संघ र सन् १९७४ मा स्थापित नेपालकै पहिलो समर्पित आँखा अस्पतालको संयुक्त प्रयासमा यो कार्यक्रम आयोजना गरिएको हो। शिविरले अभिभावकहरूलाई आफ्ना बालबालिकामा रहेका समस्याहरू समयमै पहिचान गर्न मद्दत पुर्याएको छ। दृष्टि सम्बन्धी समस्या भएका सहभागीहरूलाई सहुलियतमा चश्मा तथा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो।
“समयमै समस्याको पहिचान गर्नु नै मुख्य कडी हो,” चिकित्सक टोलीले उल्लेख गर्नुभयो। आयोजक संघका अध्यक्ष श्री रमेश तामाङले चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गर्दै कसैलाई पनि दृष्टिको पहुँचबाट वञ्चित नगर्ने प्रतिबद्धता जनाउनुभयो। संघले मोतिविन्दुको उपचारलाई सकेसम्म न्यूनतम शुल्कमा वा सम्भव भएमा नि:शुल्क उपलब्ध गराउन आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिएको छ।












प्रतिक्रिया