काठमाडौंमा १३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु हुँदै: ११ देशका कलाकारले आफ्नो संस्कृति प्रदर्शन गर्ने

काठमाडौं-एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा भोलि (शुक्रबार) देखि १३औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६’ सुरु हुने भएको छ। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो मेला चैत १० गते (मार्च २८) सम्म सञ्चालन हुनेछ।

मेलाको औपचारिक उद्घाटन भोलि दिउँसो २:१५ बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा हुने आयोजकले जनाएको छ।

कार्यक्रमका निर्देशक चन्द्र शर्माले भोलिदेखि सुरु हुने यस भव्य महोत्सवमा उपस्थित भई सांस्कृतिक विविधताको आनन्द लिन सबैलाई निमन्त्रणा गरेका छन्। भर्खरै अमेरिकामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सकेर नेपाल फर्किएका निर्देशक शर्माले यस मेलाबाट विभिन्न देशका कला र संस्कृतिलाई नजिकबाट बुझ्ने मौका पाइने धारणा राखे।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आर.सी. कोइरालाले यस्तो अन्तर्राष्ट्रिय स्तरको मेलाले सांस्कृतिक आदानप्रदान  मा महत्त्वपूर्ण योगदान गर्ने बताए। उनका अनुसार यस्ता कार्यक्रमले नेपाली लोक संस्कृतिलाई विश्वमाझ चिनाउन र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउनेछ।

यस वर्षको मेलामा नेपालसहित बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इजरायल, पोल्याण्ड, दक्षिण अफ्रिका, ताइवान र टर्की लगायतका ११ देशका सांस्कृतिक टोलीहरूको सहभागिता रहनेछ। मेलामा सहभागी राष्ट्रका कलाकारहरूले आ–आफ्नो देशको मौलिक कला, भेषभुषा र लोक सङ्गीतको प्रदर्शन गर्नेछन्।

प्रतिक्रिया

TOP