नयाँ गठबन्धनलाई शेयर बजारको हरियो झण्डा:नेप्से सूचक ५२.९७ अङ्कले बृद्धि
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२.९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।
आइतबार नेप्से सूचक ५२.९७ अङ्कले बढेर २२५७.५९ विन्दुमा उक्लिँदा ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
उसो त आइतबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.५९ अङ्कले बढेको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ३.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूकचक ३.३० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२१ प्रतिशतले र म्यानु एण्ड प्रो २.६६ प्रतिशतले र लाइफ इन्स्योरेन्स २.०५ प्रतिशतले बढेको छ ।
आज २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटाको मात्र घटेको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
रिडिपावर कम्पनी लिमिटेड र माण्डू हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले आइतबार समान १० प्रतिशतले कमाएका छन् भने बलेफी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.१२ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया