६ सय बाँदर मारेको आरोपमा सांसद ध्रुवराज राईविरुद्ध उजुरी

भोजपुर– प्रतिनिधिसभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दर्ता गरिएको छ।

ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईविरुद्ध कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्। उजुरीमा राईले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष रहँदा ठूलो संख्यामा बाँदर मारेको भनी एक अन्तर्वार्तामा स्वीकार गरेको भिडियो प्रमाणसमेत पेश गरिएको उल्लेख गरिएको छ।

जाहेरीकर्ताले उक्त कार्य वन्यजन्तु संरक्षणसम्बन्धी प्रचलित कानुनविपरीत भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

उजुरीमा वन्यजन्तु मार्ने, घाइते बनाउने वा अवैध रूपमा नियन्त्रण गर्ने व्यक्तिलाई कानुनअनुसार एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरले प्राप्त उजुरीका आधारमा आवश्यक अध्ययन तथा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया

TOP