३६० वस्तुको अन्तःशुल्क खारेज, मदिरा, जङ्क फुड र सुर्तीजन्य पदार्थमा भारी वृद्धि
काठमाडौँ-सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक मार्फत विभिन्न करका दरहरूमा व्यापक हेरफेर गरेको छ । नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उद्योग र उपभोक्ताको हितलाई ध्यानमा राख्दै विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको जानकारी दिएका छन् ।
सरकारले धेरै वस्तुमा करको भार घटाए पनि स्वास्थ्य र वातावरणमा असर पुर्याउने मदिरा, सुर्तीजन्य पदार्थ, पत्रु खाना (जङ्क फुड) र रङ रोगन जस्ता वस्तुहरूमा भने अन्तःशुल्क दरमा भारी वृद्धि गरेको छ ।
आर्थिक विधेयक अनुसार सहरी क्षेत्रमा बढी प्रयोग हुने जङ्क फुडको मूल्य अब महँगो हुने भएको छ । यसअघि प्रतिकिलो रु २० अन्तःशुल्क लाग्दै आएको कुरकुरे, कुरमुरे, लेज र चिजबल जस्ता स्न्याक्समा साढे तीन गुणाभन्दा बढीले वृद्धि गरी प्रतिकिलो रु ७५ पुर्याइएको छ । त्यस्तै, आलु चिप्सको अन्तःशुल्क प्रतिकिलो रु १८ बाट बढाएर रु ३० तथा स्पागेटी, म्याकरोनी र पास्ताको अन्तःशुल्क प्रतिकिलो रु २० बाट बढाएर रु ३५ बनाइएको छ ।
त्यसैगरी, मिठो लेप लगाइएको चुइगम, कोकोको धुलो, चिनी नहालेको चक्लेट, पाउरोटी, बिस्कुट, केक, कुकिज, पेस्ट्री र वेफरहरूको अन्तःशुल्कमा पनि वृद्धि गरिएको छ । दैनिक उपभोगमा आउने गुड र सख्खर भेलीको अन्तःशुल्क प्रतिक्विन्टल रु १३८ बाट बढाएर रु १४० तथा उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल रु ११० बाट बढाएर रु ११५ पुर्याइएको छ ।
बजारमा उपलब्ध हुने इनर्जी ड्रिङ्स र सफ्ट ड्रिङ्समा सरकारले कडा कर नीति लिएको छ । इनर्जी ड्रिङ्समा साविकको प्रतिलिटर रु ५२ अन्तःशुल्कलाई बढाएर सिधै रु १२० पुर्याइएको छ भने हल्का पेय पदार्थ (सफ्ट ड्रिङ्स) मा प्रतिलिटर रु २५ बाट बढाएर रु ६० बनाइएको छ । अल्कोहलरहित बियरमा पनि शतप्रतिशत कर बढाएर प्रतिलिटर रु ९० पुर्याइएको छ । बजारमा पाइने विभिन्न फलफूलका जुसहरूमा भने प्रतिलिटर ५० पैसा मात्र बढाएर रु १४ कायम गरिएको छ ।
नयाँ व्यवस्था अनुसार ५ प्रतिशतसम्म अल्कोहल भएको माल्ट बियरको अन्तःशुल्क प्रतिलिटर रु २४० बाट बढाएर रु २५५ पुर्याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर रु ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा रु ५७० अन्तःशुल्क लाग्नेछ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा र कक्टेलमा पनि कर बढाएर रु ५७० पुर्याइएको छ । छ्याङ (कन्ट्री बियर) मा प्रतिलिटर रु २ बढाएर रु ५० पुर्याइएको छ भने सेम्पेन, सेरी र साइडर जस्ता पेयमा भने कर घटाएर प्रतिलिटर रु ४९० कायम गरिएको छ ।
सुर्तीजन्य पदार्थ तर्फ, सुर्तीरहित पान मसलामा प्रतिकिलो रु ८७५ बाट बढाएर रु १,१५० र सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो रु ५०० अन्तःशुल्क पुर्याइएको छ । चुरोट तर्फ फिल्टर नभएको चुरोटमा प्रति हजार खिल्ली रु ७८० र ७० मिमिसम्मको फिल्टर भएको चुरोटमा प्रति हजार खिल्ली रु १,८४५ अन्तःशुल्क लाग्ने विधेयकमा उल्लेख छ ।
यसका साथै निर्माण सामग्री तर्फ प्रयोग हुने रङ्गलेप (पेन्ट), इनामेल र सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क प्रतिलिटर रु ७ बाट बढाएर रु १५ तथा टायल वा रोलमा आउने भुईँ ढाक्ने वस्तु (फ्लोर कभरिङ) मा पनि प्रति वर्गमिटर रु १५ अन्तःशुल्क कायम गरिएको छ ।








प्रतिक्रिया