अचम्मको संयोग: रवि लामिछाने र जिबी राईविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै सहकारी ठगीमा पक्राउ!

पोखरा- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जिबी राई विरुद्ध कानुनी लडाइँ लड्दै आएका मुख्य जाहेरीकर्ता कृष्णप्रसाद जैसी आफैँ सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जैसीलाई पोखराकै धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा संलग्न रहेको आरोपमा सोमबार नियन्त्रणमा लिएको हो।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले बुझाएको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले जैसीलाई पक्राउ गरेको हो। प्रतिवेदन अनुसार, धनुष सहकारीको ऋण उपसमितिमा रहँदा जैसीले ८२ लाख रुपैयाँ भन्दा बढी रकम कृत्रिम खाता खोलेर हिनामिना गरेको देखिएको छ। साविक ‘साइनो’ र ‘धनुष’ सहकारी मिलेर बनेको यस संस्थामा कुल १२ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको वित्तीय विश्लेषकको प्रतिवेदनमा उल्लेख छ।

जाहेरीकर्ता नै कठघरामा

जैसी तिनै व्यक्ति हुन्, जसले सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको संयोजक बनेर रवि लामिछाने र जिबी राईविरुद्ध मुद्दा हालेका थिए। उनकै नेतृत्वमा १ हजार ५७ जना बचतकर्ताले जाहेरी दिएका थिए, जसका कारण लामिछाने पक्राउ समेत परेका थिए। रोचक कुरा त के छ भने, केही समयअघि सार्वजनिक कार्यक्रममा लामिछानेलाई आफ्नो बच्चाको स्कुल फि तिर्न नसकेको भन्दै बिल थमाएर जैसी चर्चामा आएका थिए।

कास्की प्रहरीका अनुसार जैसीलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। धनुष सहकारी ठगी प्रकरणमा जैसीबाहेक अन्य पदाधिकारी र व्यवस्थापकहरू पनि मुछिएका छन्। रजिस्ट्रार कार्यालयले पटक-पटक रकम शोधभर्ना गर्न निर्देशन दिँदा पनि अटेर गरेपछि प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिएको थियो। हिजोसम्म अरूलाई ठग भन्दै हिँड्ने व्यक्ति नै आज ठगीकै आरोपमा समातिएपछि पोखराको सहकारी वृत्तमा यसले ठुलो तरङ्ग पैदा गरेको छ।

प्रतिक्रिया

TOP