सानेपामा आज कांग्रेसको निर्णायक बैठक: सभापति थापाको राजीनामा स्वीकृत होला?
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
यस बैठकलाई विशेष गरी फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण मानिएको छ। निर्वाचनमा पार्टीले अपेक्षा गरेभन्दा कमजोर नतिजा ल्याएपछि उत्पन्न परिस्थितिका विषयमा नेताहरूबीच गहन छलफल हुने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै आगामी महाधिवेशनको तयारीका बारेमा समेत कुराकानी हुनेछ।
बैठकको मुख्य आकर्षण पार्टी सभापति गगन थापाले दिएको राजीनामा रहनेछ। निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र स्पष्ट दुई मत देखिएको छ। संस्थापन पक्ष र इतर पक्षबीचको यो मतभेदले आजको बैठकलाई थप रोचक र निर्णायक बनाउने देखिएको छ।
बैठकमा निर्वाचनको मसिनो गरी समीक्षा हुनुका साथै आगामी दिनमा पार्टीले अपनाउने रणनीतिका बारेमा ठोस निर्णय हुने नेताहरूले बताएका छन्। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै कार्यकर्तामा नयाँ उत्साह भर्ने चुनौतीका बीच आजको बैठक बस्न लागेको हो।








प्रतिक्रिया