एलिना, अर्जुन र शशिको साङ्गीतिक त्रिकोणात्मक संयोजन: ‘पाँच पाण्डव’ को ‘राजा’ गीत रेकर्ड

काठमाडौँ – नेपाली सङ्गीत आकाशका तीन प्रभावशाली हस्तीहरूको विशेष सहकार्यमा बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’ को मुख्य गीत रेकर्ड गरिएको छ। प्रखर गीतकार शशि शर्मा मजगैयाँको शब्द, हिट मेकर सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरको त्रिकोणात्मक संयोजनमा ‘राजा…’ बोलको गीत हिजो राजधानीको ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।

यो गीतमा गायिका एलिना चौहानको ओझिलो स्वर रहेको छ। गीतकार मजगैयाँका सशक्त र भावनाप्रधान शब्दहरूलाई सङ्गीतकार पोखरेलले आफ्नै मौलिक र ऊर्जावान् धुनमा उनेका छन्। पछिल्लो समय ‘जाग युवा, उठ युवा’ जस्ता जागरणमूलक गीतहरू मार्फत चर्चामा रहेका गीतकार मजगैयाँले बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’ को मुख्य ‘थिम’ लाई समेटेर ‘राजा’ मार्फत बिलकुलै फरक र शक्तिशाली साङ्गीतिक स्वाद पस्किएका छन्।

चलचित्रका निर्देशक बसन्त निरौला र निर्माता नविन श्रेष्ठका अनुसार यो गीत चलचित्रको मुटुको रूपमा रहनेछ। सङ्गीतकार अर्जुन पोखरेलका अघिल्ला हिट गीतहरू जस्तै यस गीतले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी र सागर लम्साल जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। झापाका विभिन्न स्थानमा छायाङ्कन भइरहेको यस चलचित्रको कथा सफल लेखक सुशील पौडेलले तयार पारेका हुन्। उत्कृष्ट कलाकार, कुशल निर्देशन र अहिलेको यो सशक्त साङ्गीतिक टिमको सहकार्यले गर्दा ‘पाँच पाण्डव’ नेपाली सिने जगतमा एउटा नयाँ मानक बन्ने निश्चित देखिएको छ।

प्रतिक्रिया

TOP