गगन थापाको राजीनामा अस्वीकृत: कांग्रेसले भन्यो— ‘डढेलो निभाउन जानेलाई आगो लगाएको दोष दिन मिल्दैन’

काठमाडौँ-नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरिदिएको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाको राजीनामा फिर्ता गराउने र उनकै नेतृत्वमा पार्टी सुदृढीकरण अभियान अघि बढाउने निर्णय गरेको हो।

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सोचे जस्तो परिणाम ल्याउन नसकेपछि सभापति थापाले नैतिकताको आधारमा उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। थापा आफैँ पनि चुनावी मैदानमा पराजित भएका थिए। राजीनामा पत्रमा उनले छोटो समयको तयारी र प्रतिकूल परिस्थितिका बीच पार्टीको नेतृत्व सम्हाले पनि चुनावी परिणामको जिम्मेवारी आफैँले लिनुपर्ने उल्लेख गरेका थिए।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस गर्दै शर्माले भनेका छन्, “डढेलो निभाउन जाने व्यक्तिलाई डढेलो लगाएको दोष दिनु न्यायोचित हुँदैन। यो हार कुनै एक व्यक्तिको नभई पार्टीको सामूहिक असफलता हो।” बैठकमा सहभागी अधिकांश नेताहरूले विशेष महाधिवेशनबाट चुनिएर आएको नयाँ नेतृत्वलाई काम गर्ने पर्याप्त समय नभएको र १५ औँ महाधिवेशनसम्म थापाकै नेतृत्व आवश्यक रहेको तर्क गरेका छन्।

आगामी कार्यदिशा

राजीनामा अस्वीकृत भएसँगै अब गगन थापाकै नेतृत्वमा कांग्रेसले १५ औँ नियमित महाधिवेशनको तयारी गर्नेछ। बैठकले निर्वाचनको गम्भीर समीक्षा गर्न र सांगठनिक कमजोरी सुधार गर्न विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय समेत गरेको छ। रास्वपाको लहर र जनअपेक्षालाई समयमै बुझ्न नसक्नुलाई कांग्रेसले आफ्नो मुख्य कमजोरीका रूपमा स्वीकार गरेको छ।

प्रतिक्रिया

TOP