बालेन शाहका ‘ट्रस्टेड कमान्डर’ सुनिल लम्साल गृह मन्त्रीका मुख्य दाबेदार: महानगरको विज्ञता अब सिंहदरबारमा
काठमाडौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन गर्ने तयारीलाई अन्तिम रूप दिँदै गर्दा मन्त्रिमण्डलको शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विशेष गरी, देशको आन्तरिक सुरक्षा र प्रशासनिक कमान्ड सम्हाल्ने गृह मन्त्रालयको जिम्मेवारी कसले पाउला भन्ने चासोका बीच रास्वपा महामन्त्री सुनिल लम्सालको नाम प्रमुख दाबेदारका रूपमा अगाडि आएको छ।
महामन्त्री लम्साल केवल पार्टीका पदाधिकारी मात्र नभई प्रधानमन्त्रीका दाबेदार बालेन शाहका सबैभन्दा विश्वासिला पात्र मानिन्छन्। काठमाडौँ महानगरपालिकामा पूर्वाधार विज्ञका रूपमा कार्यसम्पादन गर्दा लम्सालले देखाएको स्पष्ट दृष्टिकोण, परिणाममुखी कार्यशैली र उच्च कार्यक्षमताले बालेन शाहलाई निकै प्रभावित पारेको स्रोतको दाबी छ। महानगरका कतिपय जटिल समस्या सुल्झाउन र पूर्वाधार विकासमा लम्सालले खेलेको रणनीतिक भूमिकाले नै उनलाई बालेनको ‘कोर टिम’ को मुख्य खम्बा बनाएको हो।
रास्वपाले आफ्नो वाचापत्रमा ‘विज्ञता र डेलिभरी’ लाई मूल मन्त्र बनाएको छ। गृह मन्त्रालयमा कर्मचारीतन्त्रलाई चलायमान बनाउन सक्ने, शान्ति सुरक्षामा सम्झौता नगर्ने र राजनीतिक हस्तक्षेपमुक्त प्रशासन चलाउन सक्ने नेतृत्वको खोजी भइरहेका बेला लम्सालको नाम जोडले आएको हो। उनको जिम्मेवारी वहन गर्ने दक्षता र कामप्रतिको उच्च प्रतिबद्धताका कारण बालेन शाहले आफ्ना सबैभन्दा भरोसायोग्य सहकर्मीलाई नै ‘गृह’ को जिम्मेवारी दिने मुड बनाएको बुझिएको छ।
जनअपेक्षा र विज्ञताको कसी
प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटको भारी जनमत पाएको रास्वपामाथि सुशासनको ठुलो दबाब छ। सक्षम, इमानदार र परिणाम दिने नेतृत्वको रूपमा लम्सालप्रति जनअपेक्षा पनि बढ्दो छ। बालेन शाह आफैँले पनि ‘काम गर्ने मान्छे’ लाई प्राथमिकता दिने बताएकाले, गृह जस्तो संवेदनशील मन्त्रालयमा लम्सालको प्रवेशले नागरिकमा सकारात्मक सन्देश जाने विश्लेषण गरिएको छ। यद्यपि, मन्त्रीहरूको अन्तिम नामावली १२ चैतको साँझ मात्र सार्वजनिक हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।








प्रतिक्रिया