रास्वपाको ‘राजकाज’ संवाद: बालेन्द्र, रवि, स्वर्णिम र डिपीबीच निर्णायक छलफल

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ सिटसहित ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको तयारीलाई तीव्र पारेको छ। यही क्रममा बिहीबार साँझ रास्वपाका शीर्ष चार नेताहरूबीच भावी मन्त्रिपरिषद् र सरकारको कार्यदिशाबारे निर्णायक परामर्श भएको छ।

प्रधानमन्त्रीका दाबेदार एवं वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्लेडिपी अर्यालबीच विशेष भेटघाट भएको हो। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाए लगत्तै सुरु भएको यो संवादले आगामी सरकारको स्वरूप र मन्त्रीहरूको जिम्मेवारी बाँडफाँडलाई अन्तिम रूप दिने सङ्केत गरेको छ।

भेटघाटको एउटा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले यसलाई ‘राजकाज’  को संज्ञा दिएका छन्। सार्वजनिक तस्बिरमा चारै जना नेताहरू निकै हर्षित र उत्साहित देखिन्छन्, जसले पार्टीभित्र सरकार सञ्चालनका विषयमा एकमत रहेको सन्देश दिएको छ।

स्रोतका अनुसार, यो छलफल विशेष गरी मन्त्रिपरिषद्को कार्यविभाजन र विज्ञताका आधारमा मन्त्रालयहरू तोक्ने विषयमा केन्द्रित थियो। बालेन्द्र शाहले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा रवि लामिछानेले पार्टी सङ्गठन र सरकारबिचको समन्वयलाई प्राथमिकता दिने बताइएको छ। त्यस्तै, अर्थ मन्त्रालयमा डा. वाग्ले र गृह मन्त्रालयमा डिपी अर्यालको नाम करिब निश्चित भइसकेको चर्चाका बीच यो ‘राजकाज’ भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

निर्वाचनमा १८२ सिट जितेर एकल बहुमतको सरकार बनाउन लागेको रास्वपाले जनअपेक्षा अनुसार ‘डेलिभरी’ दिनका लागि सानो र प्रभावकारी मन्त्रिमण्डल बनाउने रणनीति लिएको छ। चैत १२ गते सांसदहरूको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ। रास्वपाका शीर्ष नेताहरूको यो सक्रियताले मुलुकले छिट्टै नयाँ र स्थिर सरकार पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

TOP