युद्ध रोक्न दबाब: इजरायली दूतावास अगाडि शान्ति समाजको प्रदर्शन
काठमाडौँ – अमेरिका, इजरायल र इरानबिच बढ्दो सैन्य तनावले विश्व शान्तिमा गम्भीर खतरा पैदा गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौँमा आफ्नो विरोध प्रदर्शनलाई तीव्र पारेको छ। ‘अपरेसन राईजिङ लायन’ र इरानको जवाफी आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धको बाछिटाले विश्वभर त्रास फैलाइरहेका बेला समाजले आज लाजिम्पाटस्थित इजरायली दूतावासको कन्सुलेट कार्यालय अगाडि धर्ना दिएको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले “युद्ध तत्काल अन्त्य गर”, “शान्तिको प्रवर्द्धन गर” र “मानवीय क्षति रोक” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। समाजले युद्धका कारण निर्दोष नागरिक, विशेष गरी महिला र बालबालिकाहरू मारिने क्रम बढेको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न इजरायल सरकारसँग माग गरेको छ। मध्यपूर्वको यो अस्थिरताले विश्व अर्थतन्त्र र शान्तिलाई खलबल्याएको प्रदर्शनकारीहरूको ठहर छ।
शान्ति समाजले यसअघि पनि महाराजगन्जस्थित अमेरिकी दूतावास र दरबारमार्गको याक एन्ड यति होटलमा रहेको इरानी कन्सुलेट कार्यालय अगाडि यस्तै विरोध प्रदर्शन गरिसकेको छ। शक्तिशाली राष्ट्रहरूबिचको यो द्वन्द्वले नेपाल जस्ता मुलुकहरूमा पनि ऊर्जा सङ्कट र आर्थिक अस्थिरता निम्त्याउन सक्ने भन्दै समाजले अन्तर्राष्ट्रिय समुदायलाई समेत गम्भीर बन्न आग्रह गरेको छ। आजको प्रदर्शनले नेपालबाट विश्व शान्तिका लागि एकताबद्ध आवाज बुलन्द गरेको आयोजकले बताएका छन्।








प्रतिक्रिया