नयाँ सांसदलाई ‘घण्टी’को पाठशाला: संसदीय मर्यादादेखि कानुन निर्माणसम्मको प्रशिक्षण

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित आफ्ना सांसदहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा मंगलबार बिहान ९ बजेदेखि सुरु भएको यस कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदहरूको सहभागिता रहेको छ। फागुन २१ को निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ सिट जितेको रास्वपाले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यो प्रशिक्षण आयोजना गरेको हो।

अभिमुखीकरणको पहिलो दिन उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेले विषय प्रवेश गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका छन्। सो अवसरमा संसद्का पूर्व सचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणालीबारे जानकारी गराउनुभएको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिन सांसदहरूबीच परिचय, समूह विभाजन र सामूहिक कार्यकुशलता अभिवृद्धि गर्ने सत्रहरू तय गरिएका छन्।

विशेषज्ञ प्रशिक्षकका रूपमा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माणमा संघीय संसद्को भूमिकाबारे प्रशिक्षण दिने कार्यसूची छ। त्यस्तै, वाचापत्र लेखन समितिका संयोजक समेत रहेका उपसभापति स्वर्णिम वाग्लेले चुनावी प्रतिबद्धता र सांसदहरूको जिम्मेवारीबारे प्रष्ट पार्नेछन्। डिजिटल युगमा नागरिकसँगको संवादलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अध्येता दोभान राईले सहजीकरण गर्नेछिन् भने सोविता गौतम लगायतका अनुभवी सांसदहरूले आफ्नो संसदीय अनुभव साझा गर्नेछन्।

दोस्रो दिनको सत्र बुधबार बिहान योग र ध्यानबाट सुरु हुनेछ, जसको नेतृत्व एलपी भानु शर्माले गर्नेछन्। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले योजना तर्जुमा र बजेट निर्माण प्रक्रियाबारे जानकारी दिनेछन्। कार्यक्रमको अन्त्यमा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिँदै दुई दिने अभिमुखीकरणको समापन गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

TOP