निर्वाचनमा सरकारले दियो तीन दिन बिदा: फागुन तेस्रो साता देशभर ‘भ्याकेसन’ को माहोल
काठमाडौँ – सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस बमोजिम फागुन २०, २१ र २२ गते बिदा दिने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई व्यवस्थित बनाउन र मतदातालाई आफ्नो क्षेत्रसम्म पुग्न सहज होस् भन्नका लागि यो निर्णय लिइएको बताउनुभयो।
यसअघि आइतबार निर्वाचन आयोगले मतदानको दिन र त्यसको अघिल्लो तथा पछिल्लो दिन गरी तीन दिन बिदा दिन सरकारलाई औपचारिक सिफारिस गरेको थियो। फागुन २१ गते सोमबार देशभर एकै चरणमा मतदान हुँदैछ। निर्वाचनमा कर्मचारीहरूको परिचालन, मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा प्रबन्धका लागि तीन दिनको बिदा आवश्यक पर्ने आयोगको ठहर थियो, जसलाई सरकारले सदर गरेको हो।
यसपटकको निर्वाचन बिदाले सर्वसाधारणका लागि एक साता लामो ‘भ्याकेसन’ को अवसर जुराएको छ। फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली पर्वको सार्वजनिक बिदा रहेको छ। त्यसलगत्तै २०, २१ र २२ गते निर्वाचन बिदा परेको छ। २३ गते नियमित शनिबारको बिदा र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा परेकाले फागुन १८ देखि २४ गतेसम्म लगातार ७ दिन सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन्।
एक साता लामो बिदाका कारण विशेष गरी आ-आफ्नो स्थायी ठेगाना भएका मतदाताहरूलाई गाउँ फर्कन निकै सहज हुने देखिएको छ। अर्कोतर्फ, लामो बिदा परेकाले आन्तरिक पर्यटनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ। यद्यपि, सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारीहरूका लागि भने यो समय निकै व्यस्त रहनेछ। सरकारले यो बिदाको समयमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउन र निर्वाचन आचारसंहिता पालना गराउन विशेष निर्देशन दिएको छ।








प्रतिक्रिया