निर्वाचन आयोगको कडाइ: रास्वपाले अब चुनाव प्रचारमा घण्टी बजाउन नपाउने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबदेखि आफ्नो चुनावी प्रचारप्रसारका क्रममा भौतिक रूपमा घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आइतबार एक विशेष निर्देशन जारी गर्दै निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको हो।
यसअघिका निर्वाचनहरूमा रास्वपाका उम्मेदवार र कार्यकर्ताहरूले हात-हातमा घण्टी बोकेर बजाउँदै मतदाताको घरदैलोमा पुग्ने गरेका थिए। तर, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय दल र उम्मेदवारले निर्वाचन चिह्नको भौतिक स्वरूप (जस्तै: घण्टी, हलो, छाता आदि) साथमै बोकेर हिँड्दा र प्रदर्शन गर्दा जनसमुदायको समग्र शान्ति सुरक्षामा प्रतिकूल असर परेको भन्दै यस्तो रोक लगाइएको हो।
आयोगमा प्राप्त विभिन्न सूचना र गुनासाहरूका आधारमा प्रचारप्रसारलाई मर्यादित र शान्तिपूर्ण बनाउन यो कदम चालिएको बताइएको छ। आयोगले कुनै पनि धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक चिह्नहरू प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने समेत स्पष्ट पारेको छ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा आयोगको यो निर्णयले विशेष गरी रास्वपाको ‘घण्टी’ अभियानलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। आयोगले राजनीतिक दलहरूलाई भौतिक चिह्नको साटो झण्डा, फ्लेक्स र अन्य स्वीकृत प्रचार सामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ।










प्रतिक्रिया