जहाँसुकै भए पनि सहकारी ठगहरू कानुनको दायरामा आउछन् :सूर्य थापा
काठमाडौँ – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।
‘म तपाईँहरूलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गए पनि छोड्दैन, आकाशमाथि गए पनि छोड्दैन,’– उनले भने ।
साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबिच भएको सम्बन्ध विच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेड कर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए ।
त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको नेता थापाको भनाइ छ । उनले अनुसन्धान अधिकारीको सहमतिको राहदानी विभागले जिबीको पासपोर्ट रोक्का गरेको बताए । थापाले सरकार जिबीलाई नेपाल ल्याउने प्रक्रियामा लागिरहेको पनि बताए ।








प्रतिक्रिया