दाङको दुर्गम विद्यालयमा रापती समाजको सहयोग

दाङ-रापती समाज काठमाडौंले दाङको बराहखुटीस्थित आधारभुत विद्यालयलाई सहयोग प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच विद्यालयका १४० जना विद्यार्थीहरुलाई समाजले सहयोग स्वरुप न्यानो पोसाक प्रदान गरेको हो ।

रापती समाजका विभिन्न समितीहरुमध्ये अमेरिकाको क्यालिफोर्निस्थित समाजको समितीसङ्ग सहकार्य गरि दाङको तुलसीपुर उपमहानगरपालिकाको १३ नं. वडामा अवस्थित अत्यन्तै दुर्गम मानिने आधारभुत विद्यालय बराहखुटिका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको समाजकी केन्द्रिय अध्यक्ष सीमा पुरीले बताइन् ।

आफ्नो स्थापनाकालदेखी नै निरन्तर यस्तै सामाजिक कार्य गर्दै आइरहेको समाजले यसपालि बराहखुटिमा आफ्नो उपस्थिति जनाएको समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार शशि शर्मा मजगैयाँले बताए । एकसरो न्यानो कपडाको अभावले विद्यार्थीको पठनपाठनमा ठूलो असर परिरहेको भन्दै विद्यालयले पोसाकको माग गरेपछि तत्काल निर्णय गरि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो पोसाक उपलब्ध गराएको उनले सुनाए । यसैबीच उनले महानगरभित्र नै विद्यार्थीहरुको यो दुराबस्था हुनु अत्यन्तै दुःखद् भएको भन्दै बाल अधिकारको समेत संरक्षण गर्दै न्युनतम पुर्वाधार विकास गरि पठनपाठनको उपयुक्त वातावरण मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । यस्ता खालका सहयोगले तत्कालीन समस्यामा राहत मिलेपनी दीर्घकालीन विकासमा सरकारले नै स्पष्ट नीति,कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उनले भनाइ राखे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नगरको शैक्षिक विकासमा आफुहरुले निरन्तर जिम्मेवार ढङ्गले काम गरिरहेको र सरकारी विद्यालयहरुको गुणस्तर वृद्धिका निमित्त पनि कुनै कसर बाँकी नराख्ने बताए । आफ्नो नगर शैक्षिक हिसाबले विकसित र उत्कृष्ट नगर भएको चर्चा गर्दै रापती समाज जस्तै सामाजिक संस्थाहरुसङ्गको समेत साझेदारीमा विकटका सरकारी तथा सामुदायिक विद्यालयहरुमा त्यहाँको गुणस्तर वृद्धिमा काम गर्ने योजना रहेको पनि बताए । “रापती समाजको यो अभियानले तत्काल राहत मात्र प्रदान गरेको छैन, बरु सामाजिक उत्तरदायित्व र शिक्षा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ”उनले थपे ।

कार्यक्रममा रापती समाज काठमाडौंका पुर्व सचिव समेत रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात)ले रापती समाजको सामाजिक इतिहासको पृष्ठभुमि बताउदै तत्कालीन अध्यक्ष शशि शर्मा मजगैयाँको नेतृत्वमा बाढी पीडित ,भुकम्प पिडित,अग्नि पीडित लगायत दुर्गम र पिछडिएका समुदायमा पुगेर थुप्रै आकस्मिक सेवा उपलब्ध गराएको र ठूलो मात्रामा राहत उपलब्ध गराएको चर्चा गरे । सामाजिक कार्यको जग बसाल्न र आफ्नो नेतृत्व क्षमतामा समेत महत्त्वपूर्ण योगदान गरेको भन्दै रापती समाजप्रति अनुग्रहित भएको र स्थानीय जनप्रतिनिधि भएको नाताले समाजसङ्गको साझेदारीमा दीर्घकालीन र अल्पकालीन योजनाहरुमा काम गर्न इच्छुक रहेको उनले बताए ।

यसैबीच वडा नं. १३ का अध्यक्ष मोहन पौडेलले आफ्नो वडाको विद्यालयलाई छनौट गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । नगरको विकट वडा भएका कारण चुनौतीहरु भएपनी यहाँको विकासमा कुनै कसर बाँकी नराखेको उनको तर्क छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार बस्नेतले विद्यालयको कमजोर पुर्वाधारका कारण विद्यार्थीहरुको दैनिक पठनपाठनमा असर परिरहेको भन्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए । विद्यार्थीहरुले न्युनतम सुविधामा पठनपाठन गर्न पाउनुपर्ने भन्दै यसतर्फ गम्भीर बनिदिन सरकार समक्ष उनले माग राखे । मोफसलमा रहेता पनि रापती समाजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु आफूले नजिकैबाट नियालीरहेको भन्दै आफ्नो मागलाई तत्काल सम्बोधन गरि चिसोबाट कठ्याङ्ग्रीरहेका विद्यार्थीहरुलाई सहयोग स्वरुप पोसाक उपलब्ध गराएकोमा समाजलाई धन्यवाद दिए ।

रापती समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार गोपाल बस्नेत, आजिवन सदस्यहरु पुर्ण पुरि,मनबहादुर के.सी,सन्चारकर्मी पारस भट्टराई,प्रेमराज लामिछाने लगाएतको उपस्थिति रहेको कार्यक्रममा सयौं विद्यार्थी,अभिभावक तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष गोविन्द मधुर आचार्यले “एक दिन उज्यालो छाउला” बोलको गीत लगाएत अन्य सन्देशमुलक गीतहरु मार्फत मनोरञ्जन र उत्प्रेरणा दिए ।

 

प्रतिक्रिया

TOP