गजलकार शशि शर्मा मजगैयाँ र गायिका समिक्षा अधिकारीको गजलमा सहकार्य

काठमाडौं-गजलकार शशि शर्मा मजगैयाँ र गायिका समिक्षा अधिकारीले नयाँ गजलमा सहकार्य गरेका छन् । को रेकर्डिङ सम्पन्न गीतकार तथा गजलकार शशि शर्मा मजगैयाँको नयाँ गजल रेकर्ड भएको छ ।
प्रेमभावले भरिपूर्ण गजलमा समिक्षा अधिकारीसङ्गै गायक रुद्र शेखर शर्माको पनि स्वर रहेको छ । “के छ ओइ सान्नानी तिम्रो चालिमाली”बोलको गजल आइतबार काठमाडौंको प्रीज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । उक्त गजलमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गजलको सङ्गीत सम्योजन बिशाल निरौलाले गरेका छन् ।
रोमान्टिक गजलमा स्वर भर्न पाँउदा अत्यन्तै खुशी लागेको गायिका अधिकारीले बताइन् । यस अघि केही गजलहरु गाएतापनी युगल गायनमा रहेको यो गजल पृथक रहेको गायिका अधिकारीको अनुभव छ । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ गजल एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरु गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरु प्रकशित छन् । उनका थुप्रै फुटकर आधुनिक तथा फिल्मि गीतहरु चर्चामा छन् । नरेन्द्र प्यासीले गाएको “तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ”,अन्जु पन्तले गाएको “तिम्रै यादमा भित्रभित्रै जलिजली बाचेकी छु”,प्रमोद खरेलले गाएको “माया के हो” ,गोविन्द मधुर आचार्यले गाएको “तिमी फुल्दै जानू प्रिया” जस्ता गजलहरुले राम्रो व्यवसायीक सफलता समेत पाएका थिए । दुर्गा खरेलले गाएको “यो मखमली आजसम्म एक्लै छे”बोलको गीत पनि उनको चर्चित गीत हो ।
गजलकार मजगैयाँ राष्ट्रिय गजल गायन प्रतियोगितालाई संस्थागत गर्ने अभियान्ता समेत हुन् । उनको नेतृत्वमा राष्ट्रिय स्तरका थुप्रै गजल वाचन तथा गायन प्रतियोगिताहरुको आयोजना भएका छन् । उनले विभिन्न रेडियोमा करिब दुई दशक लामो समयसम्म गजल सम्बन्धि कार्यक्रम सञ्चालन गरि गजलको उन्नयन र विकासमा समेत महत्त्वपूर्ण टेवा दिएका छन् ।
बि.सं २०६१ सालतिर दाङबाट प्रकाशित गजल प्रधान पत्रीका “लोकप्रिय” र “निर्झर” को प्रधानसम्पादकको समेत भुमिका निर्वाह गरेका मजगैयाँले रापती समाज काठमाडौंद्वारा प्रकाशित “गजल यात्रा” को सम्पादकीय जिम्मेवारी पनि सम्हालेका थिए ।
प्रतिक्रिया