विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै
काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज आइतबार अन्तर्राष्ट्रिय क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा राति २०ः१५ बजे सुरु हुनेछ ।
भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हार बेहोरेको छ ।
समूह ‘ए’ मा यसअघि चार खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।
यसै गरी समूहको तेस्रो खेलमा पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको आयोजक अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएको थियो । चौथो खेलमा भने क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गरेको थियो ।
समूह ‘ए’ तालिकामा दुई खेल खेलेको अमेरिका चार अङ्कसहित पहिलो स्थानमा आसीन छ । एक खेल खेलेको भारत दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको क्यानडा दुई अङ्कसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा आसीन पाकिस्तान र पाँचौँ स्थानमा आसीन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।
- भारत र पाकिस्तानको नाममा एक–एक उपाधि
भारत र पाकिस्तान दुवै टी–२० विश्वकपको पूर्वविजेता राष्ट्र पनि हुन् । यी दुवै राष्ट्रले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको थियो ।
त्यति बेला भारतले फाइनलमा पाकिस्तानलाई नै पाँच रनले हराएको थियो । त्यति बेला भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी थिए । यसदेखि बाहेक भारत सन् २०१४ को टी–२० विश्वकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यति बेला फाइनलमा भारतलाई श्रीलङ्काले ६ विकेटले हराएको थियो ।
पाकिस्तानले भने सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यति बेला पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले पराजित गरेको थियो । त्यति बेला पाकिस्तानी टोलीका कप्तान थिए, युनिस खान ।
यसदेखि बाहेक पनि दुईपटक पाकिस्तान टी–२० विश्वकपको फाइनलमा पुगेको छ । पहिलो संस्करणको फाइनलमा पाकिस्तानी टोली भारतसँग पराजित भएको थियो । त्यसपछि सन् २०२२ को टी–२० विश्वकपमा पनि पाकिस्तान फाइनलसम्म पुगेको थियो । फाइनलमा इङ्ल्यान्डसँग पाँच विकेटले पराजित भएपछि पाकिस्तान साबिक उप–विजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।
प्रतिक्रिया