संसद मुठभेडतर्फ उन्मुख:सांसदहरुको धकेलाधकेल
काठमाडौं-बिहिवार साँझ सुरु भएको प्रतिनिधि सभाको बैठक मुठभेड उन्मुख भएको छ । नेपाली काङ्ग्रेसको बिरोधका बाबजुद सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल समेत भएको हो ।
बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए।
सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।
त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेले बोल्न समय माग गरेकोले समय दिएको जानकारी गराएका थिए। गृहमन्त्री लामिछाने बसेको ठाउँबाट उठेका थिए।
गृहमन्त्री उठेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए।
त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच भनाभन भएको देखिन्थ्यो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन्। त्यहाँ झण्डै हात हालाहालको अवस्था सिर्जना भएको देखिन्थ्यो । सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए।
साथै सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। बैठक स्थगित भइसकेपछि पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूबीच धकेलाधकेल र विवाद भएको थियो।सत्ता पक्षको इसारामा सभामुखले प्रतिपक्षी आवाजलाई दबाउन खोजेको र बैठक जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप प्रतिपक्षले लागाएको छ । सदनमा सहकारी ठगलाई कार्वाही गर,सहकारी पिडितलाई न्याय दे,सम्सदिय छानबिन समिति गठन गर,जबर्जस्ति बन्द गर लगायतका नारा लगाइएको थियो ।
यसैबिच प्रतिनिधि सभाको बैठक पनि आजका लागि स्थगित भएको छ। बिहीबार साँझ पौने ६ बजे सुरू भएको प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित भएको हो। सभामुख देवराज घिमिरेले भोली जेठ ४ गते शुक्रबार बिहान ११ बजेका लागि बस्ने गरी बैठक स्थगित गरेका हुन्।
प्रतिक्रिया