हल्लैहल्लाको भरमा पार्टी फुटाइयो:उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लैहल्लाको भरमा पार्टी फुटाइएको बताएका छन्।
बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यादवले कपोलकल्पित हल्ला चलाएर त्यसैको मौका छोपी पार्टी फुटाइएको दाबी गरेका हुन्।
आफू देशबाहिर रहेका वेला नयाँ गठबन्धन बनाउन लागेको हल्ला चलाएर पार्टी फुटाइएको उनको दाबी छ। ‘म जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको वेला मौका छोपेर जसपा नेपाल र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो। अत्यन्त्यै निराधार र कपोलकल्पित हल्ला चलाइयो। जसको कुनै आधार थिएन। त्यही निराधार हल्लामा कसैकसैले मौका छोपेर पार्टी फुटाए,’ उनले भने।
फरक मत महाधिवेशन लगायत पार्टीभित्रै राख्न सकिने उल्लेख गर्दै यादवले भने, ‘संस्थागत रूपले कुनै पनि कुराहरू उठेनन्। यस्तो अवस्थामा अत्यधिक महत्वाकांक्षी, व्यक्तिगत स्वार्थबाट प्रेरित केही व्यक्तिले हल्ला चलिरहेकै मौकामा त्यसको फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे।’
यसैबिच उनले सरकारलाई दिएको समर्थन निरन्तर रहने पनि बताएका छन्। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे।‘सरकारलाई दिएको हाम्रो समर्थन यथावत् छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ,’ उनले भने। राजनीतिक अस्थिरता र गलत क्रियाकलापको अगुवा आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ।’
प्रतिक्रिया