काठमाडौंमा डिप बोरिङ खन्दा किन निस्कन्छ ग्यास ?

काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ५, जोरपाटीस्थित सन्त लामाको घरमा डिप बोरिङ खन्दा मंगलबार बिहान मिथेन ग्यास निस्क्यो । ग्यास निस्किएको १० घण्टाभन्दा बढी भयो तर नियन्त्रणमा आएको छैन । खानी तथा भूगर्भ विभागका अनुसार नियन्त्रणमा आउन २४ घण्टासम्म लाग्न सक्छ । ‘यति समयमा रोकिन्छ भन्ने हुँदैन तर धेरै दिन रहँदैन,’ विभागका प्रवक्ता नारायण बाँस्कोटाले भने, ‘बढीमा एक/दुई दिनसम्म रहन सक्छ ।’ 

उनका अनुसार ग्यास आफैँ नियन्त्रणमा नआएसम्म अर्को विकल्प छैन । ‘ग्यास आउन रोकिएपछि खाल्डोलाई पुर्ने हो । त्योबाहेक अरु विकल्प छैन,’ उनले भने, ‘त्यसरी ग्यास निस्किएपछि घर जोखिममा पर्‍यो ।’  हाल उक्त डिप बोरिङबाट ६० फिट माथिसम्म ग्यास फालिरहेको छ । सोमबार उक्त घरमा तीन सय फिटको डिप बोरिङ खनिएको थियो ।

तर भोलिपल्ट मंगलबार बिहान मेसिन चलाउँदा ग्यास निस्किएको बताउँछन् वडाध्यक्ष नारायण सुवेदी । ‘घटनास्थलनजिकै छौँ । हामीले केही गर्न सक्ने स्थिति छैन । ग्यास, पानी र लेदोको फोहोरा ६० फिट माथिसम्म आइरहेको छ,’ उनले भने, ‘जोरपाटी चोकसमेत हिलाम्मे भइसक्यो ।’ 

प्रतिक्रिया

TOP