गगन थापाको कडा माग: ‘जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई सजाय देऊ’
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ‘जेनजी आन्दोलन’को छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिवेदन लुकाएर राख्न नहुने भन्दै यसलाई कार्यान्वयनमा ल्याउन दबाब दिएका हुन्।
सभापति थापाले प्रतिवेदन सार्वजनिक मात्र नभई त्यसमा औँल्याइएका बुँदाहरू अक्षरशः पालना हुनुपर्नेमा जोड दिए। उनले भनेका छन्, “त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् र प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्। जसले गल्ती गरेको छ, उसले सजाय पाउने अवस्था बनोस्।” उनले आन्दोलनका क्रममा भएका घटना र त्यसका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन ढिलाइ गर्न नहुने बताए।
कांग्रेसले यो मुद्दामा कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष छानबिन र कारबाहीको माग गरेको थापाले प्रस्ट पारे। उनले बैठकमा भने, “बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान राख्छ।” युवा पुस्ताको ठुलो सहभागिता रहेको ‘जेनजी आन्दोलन’ले उठाएका मुद्दा र त्यसमा भएका दमनका बारेमा सत्यतथ्य बाहिर आउनुपर्ने कांग्रेसको ठहर छ।
निर्वाचनको परिणाम र पार्टीभित्रको विवादका बीच गगन थापाले सरकारलाई जनचासोका मुद्दामा घेर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। १३ चैतमा नयाँ सरकार बन्नुअघि नै थापाले यो प्रतिवेदन सार्वजनिक गर्न माग गरेर सरकारको पारदर्शितामाथि प्रश्न उठाएका छन्।









प्रतिक्रिया