राजनीतिमा ‘ड्रेगन फ्रुट’ शैली: पत्रकार समा थापाको टिप्पणी र प्रकाश सपुतको ‘यु-टर्न’

काठमाडौँ- नेपाली राजनीतिमा पछिल्लो समय कलाकार र स्वतन्त्र व्यक्तित्वहरूको आकर्षण बढ्दो छ। तर, यही लहरका बीच पत्रकार समा थापाले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एउटा तिखो टिप्पणीले यतिबेला बौद्धिक वृत्तमा नयाँ बहस छेडेको छ। उनले नेपाली समाजमा देखिने ‘देखासिखी’ प्रवृति र राजनीतिको गहिराइलाई लिएर कडा व्यङ्ग्य गरेकी छिन्।

के भनिन् समा थापाले?

पत्रकार थापाले राजनीतिलाई पद र प्रतिष्ठाको विषय मात्र बनाउने सोचप्रति असन्तुष्टि जनाउँदै लेखेकी छिन्, “पद पाए म जनताको सेवक हुँ, नपाए म आफ्नै पेशामा अब्बल हुँ भन्ने भावले राजनीति कहिले पनि हुँदैन।” उनले सबैले राजनीतिमै होमिनुपर्छ भन्ने मान्यता गलत रहेको तर्क गर्दै थपेकी छिन्, “थोरैले इमानदार भएर गरे पुग्छ। नेपाली समाजको यो पुरानो रोग हो— छिमेकीले कुखुरा पाले सबैले पाल्न पर्ने, एउटाले ड्रेगन फ्रुट रोपे सबैले रोप्ने। कोही-कोही त ग्राहक बने पनि भयो त!”

थापाको यो टिप्पणीले राजनीतिलाई एउटा ‘ट्रेन्ड’ वा लहडका रूपमा लिने र आफ्नो मूल पेसा छोडेर शक्ति आर्जनका लागि मात्र राजनीतिमा छिर्नेहरूलाई लक्षित गरेको बुझिन्छ।

प्रकाश सपुतको सन्दर्भ र राजनीतिक ‘एक्जिट’

यो टिप्पणी यस्तो समयमा आएको छ, जब चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदको दौडमा असफल भएपछि राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। सपुतले शनिबार एक लामो फेसबुक स्टेटस लेख्दै आफू अब पूर्ण रूपमा मनोरञ्जन क्षेत्रमै फर्कने र ‘सामाजिक एवं राजनीतिक चेतको बोझ’ बिसाउने बताएका थिए।

सपुतले भनेका थिए, “यदि मेरो परिवर्तनको पक्षमा उभिएकै कारण कलाकारिताको कद घट्दै गएछ भने मेरो माइक समाउने हातले गाउँ फर्केर हलो समाउन सक्छ।” उनले आफूलाई सांसद पद नपाएकोमा गुनासो नभएको बताए पनि, उनको यो ‘यु-टर्न’ लाई धेरैले पद केन्द्रित राजनीतिको उपजका रूपमा विश्लेषण गरिरहेका छन्।

लहर कि निष्ठा?

नेपाली राजनीतिमा पछिल्लो समय बालेन शाह र रवि लामिछानेको उदयपछि कलाकारहरूमा राजनीतिप्रति ठुलो मोह देखिएको छ। तर, समा थापाले औँल्याए जस्तै यसलाई ‘ड्रेगन फ्रुट’ खेती जस्तै एउटाले गर्दा सबैले गर्ने लहरका रूपमा लिँदा वास्तविक राजनीतिक निष्ठा ओझेलमा पर्ने खतरा छ।

राजनीति केवल ‘साइड जब’ वा ‘पार्ट टाइम’ पेसा हुन सक्दैन भन्ने थापाको तर्क र पद नपाउँदा तत्कालै पेसामा फर्कने कलाकारहरूको शैलीबीचको अन्तरले अहिलेका मतदातालाई सोच्न बाध्य बनाएको छ। सपुत जस्ता प्रभावशाली कलाकारहरूले सिर्जनामार्फत गर्ने खबरदारी र प्रत्यक्ष राजनीतिमा होमिनुबीचको भिन्नतालाई लिएर अहिले सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस जारी छ।

प्रतिक्रिया

TOP