शशि र बि.पिको राष्ट्रिय भावको गीतमा शिव र इन्दिराको स्वर
काठमाडौं- युवा अभियान्ता सरोज बानियाँको निर्माण तथा परिकल्पनामा गीतकार शशि शर्मा मजगैयाँ र सङ्गीतकार बि.पि वाग्लेको नयाँ राष्ट्रिय भावको गीत हालै रेकर्ड भएको छ । बिगत लामो समयदेखि गीत लेखनमा सक्रिय दाङका मजगैयाँले यसपालि युवा जागरण ,राष्ट्रिय एकता र उद्यमशीलतामा केन्द्रित “जाग युवा,उठ युवा” बोलको गीतलाई रेकर्ड गराएका हुन् । सुप्रसिद्द सङ्गीतकार बि.पि वाग्लेले सङ्गीत भरेको गीतमा चर्चित गायक गायिकाहरु शिव परियार र इन्दिरा जोशीले स्वर भरेका छन् ।

पछिल्लो समय युवा पलायनताको भयावह स्थिति सृजना भएको र उद्यमशीलता तथा रोजगारीमा ठूलो खडेरी देखिएको अवस्थामा युवा जमातलाई जागरण र उत्प्रेरणा थप्न गीतको सहारा लिएको गीतकार मजगैयाँले बताए । गीतले अब देशमा युवा नेतृत्व जवरजस्त तरिकाले अगाडि आउनुपर्ने र देश बनाउन एक भइ जुट्नुपर्ने कुरामा अपिल गरिएको उनले थपे । आफ्नो सीप,ज्ञान र क्षमाताको सदुपयोग गरेर आफ्नै माटोमा सेवा गर्न युवाहरुलाई गीत मार्फत उत्प्रेरित गरिएको उनको भनाइ छ ।
युवा अभियान्ता सरोज बानियाँको परिकल्पना तथा निर्माणमा गीत तयार भएको हो । लामो समयदेखि युवाको क्षेत्रमा कृयाशिल बानियाँले आफ्नो सोच र परिकल्पना अनुसार गीतलाई तयार पारेकोमा सर्जक तथा कलाकारहरुलाई धन्यवाद दिए । यो गीतका लागि गीत मात्र नभएर एउटा अभियान भएको उनले चर्चा गरे । गीत मार्फत देशमा नयाँ सकारात्मक अभियान संचालन हुने उनको बिश्वास छ । अहिलेको आवश्यकता र पृथक बिषयमा गीत बनेको र यति राम्रो परियोजनामा सामेल हुन पाउँदा अत्यन्तै गर्वको महसुस भएको गायक परियार र गायिका जोशिले सुनाए । भद्र वलीको सङ्गीत सम्योजनमा बनेको गीत काठमाडौंको अक्वस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियो केहि दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।









प्रतिक्रिया