विश्वकपमा शनिबार नेपाल र दक्षिण अफ्रिका आमनेसामने हुँदै
काठमाडौं-आईसीसी टी–२० विश्वकपमा शनिबार नेपाल र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् ।
भोलिको उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ ।
नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा रहेका छन् । यो खेलमा नेपालले कुनै हालतमा यो खेल जित्नैपर्ने हुन्छ। प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालसँग दक्षिण अफ्रिकालाई हराउनुको विकल्प नै छैन ।
नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ । नेपाल भने वरीयताको १७औँ स्थानमा खुम्चिएको छ ।
दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा सहभागी भएको हो । नेपाल भने एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो ।
यसअघि नेपालले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । त्यतिबेला नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म भने पुग्न सकेको छैन ।
यसअघि दुई पटक दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । दक्षिण अफ्रिका सन् २००९ को सेमिफाइनलमा पाकिस्तानसँग सात रनले पराजित भएको थियो । त्यसपछि सन् २०१४ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले हराएको थियो ।
प्रतिक्रिया