दबाबमा रहेको श्रीलंकासंग नेपाल बुधबार आमनेसामने हुँदै
काठमाडौं- नेपाल आईसिसी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकासंग बुधवार आमनेसामने हुँदैछ । यो खेलमा जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित नेपाल मैदान उत्रने भएको छ।
खराब लयबाट गुज्रिरहेको श्रीलंका नेपालका लागि अमेरिकाको फ्लोरिडामा सहज प्रतिद्वन्द्वी भने हुने छैन। समूह ‘डी’ का प्रतिद्वन्द्वी श्रीलंकाको तेस्रो खेल हो भने नेपालले दोस्रो खेल खेल्दै छ।
फ्लोरिडाको फर्ट लउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने यो खेलमा श्रीलंका धेरै दबाबमा हुने छ। नेपाल र श्रीलंकाबीचको खेल स्थानीय समयअनुसार साँझ ७ः३० बजेबाट सुरु हुनेछ भने नेपाली समय अनुसार वुधबार बिहान ५ः१५ बजेबाट सुरु हुनेछ। सुपर आठको यात्रा तय गर्न वानिदु हसरंगाको कप्तानीमा रहेको श्रीलंकासँग जितको विकल्प हुनेछैन। टेस्ट टोली श्रीलंका र नेपाल पहिलोपटक एक आपासमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
विश्वकपमा खराब सुरुआत गरेको नेपाल र श्रीलंका पहिलो जितको खोजीमा रहने छन्। दोस्रो चरणमा पुग्न बाँकी तीनै खेल आफ्नो पक्षमा पार्दा पनि श्रीलंकाका लागि पर्याप्त हुने छैन।श्रीलंकाले आगामी यात्रा कायम राख्न अन्य टोलीको नतिजा भर पर्नुपर्नेछ। साथै फराकिलो अन्तरको जित श्रीलंकाका लागि आवश्यक हुनेछ। त्यसैले पनि नेपालविरुद्ध श्रीलंका नेट रनरेट सुधार गर्ने लक्ष्यसँगै दबाबमा हुनेमा दुईमत छैन।
आयोजक अमेरिकाका फरकफरक तीन मैदानमा गरेर मंगलबारसम्म १० खेल सम्पन्न भैसकेका छन्। तर, तीमध्ये अमेरिका र क्यानडाबीचको खेलबाहेक अन्यमा राम्रो रन बन्न सकेन। बाँकी ९ खेलमा भने ब्याटिङ निकै संघर्ष गर्नु परेको छ। १२० रनभन्दा कमको लक्ष्य पनि भेट्याउन कठिन भएको छ। त्यस कारण पनि अमेरिकामा जारी विश्वकपमा पिचको विषयलाई लिएर आलोचना भैरहेको छ।
नेपालसँगकै खेलअगाडि पत्रकार सम्मेलनमा श्रीलंकाका बलिङ प्रशिक्षक अकिब जाबेदले पिचको विषयलाई लिएर आलोचना गरे। ‘यहाँको पिच अनुमान गर्न सकिने खालकै छैन। सबैभन्दा पहिले नै यो खराब पिचको सामना हामीले ग¥यौं। अहिले सबै टोलीले पनि थाहा पाइसकेका छन्। सानै योगफल पछ्याउँदा पनि जित्नका लागि योग्य हुन्छन् भन्ने अनुमान गर्न सकिने अवस्था छैन,’प्रशिक्षक जाबेदले भने, ‘यहाँका पिचले नर्मल व्यवहार नै देखिँदैन।’
श्रीलंका सन् २०१४ को ट्वान्टी–२० विश्वकप च्याम्पियन टोली हो। नेपालले यसै विश्वकपमार्पmत आइसिसीको यति ठूलो प्रतिस्पर्धामा डेब्यु गरेको थियो। १० वर्षपछि नेपालले दोस्रो पटक विश्वकप खेलिरहँदा भने श्रीलंकाको प्रदर्शन बिर्सनलायक छैन। टेस्ट राष्ट्र श्रीलंका समूहचरणबाटै घर फर्किने संघारमा छ। यो समूहका पाँच टोलीमध्ये दक्षिण अफ्रिका तीन खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। यसै समूहमा बंगलादेश र अर्को एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले समान दुई खेलबाट एक खेलको नतिजा आफ्नो पक्षमा पारेका छन्।
श्रीलंका र नेपालले भने जितको स्वाद चाख्न पाएका छैनन्। दुवै टोली आगामी चरणको यात्रा कायम राख्न स्वाभाविक प्रदर्शन सुधार गर्न चाहन्छन्। नेपालका कप्तान रोहितकुमार पौडेल बुधबार श्रीलंकालाई हराउँदै नयाँ इतिहास राख्ने विश्वास व्यक्त गर्छन्। ‘२० वटै टोली उतिकै बलिया र सन्तुलित छन्। कतिपय अप्रत्यासित नतिजाले हामीलाई पनि उत्प्रेरणा दिएको छ। श्रीलंकासँग हामी पनि सोही किसिमको नतिजा ल्याउँदै इतिहास बनाउन चाहन्छौं,’कप्तान रोहितले भने, ‘जसरी पछिल्ला ढेड महिनादेखि हाम्रो तयारी छ। त्यसअनुरूप मलाई मेरो टोलीप्रति पूर्ण विश्वास छ।’
रोहितले भने जस्तै यस विश्वकपमा केही अप्रत्यासित नतिजा आएका छन्। पाकिस्तान अमेरिकासँग र श्रीलंका बंगलादेशसँग पराजित हुनु जस्ता नतिजा निस्किए। यी नतिजाबाट नेपालमा पनि ठूलो टोलीलाई हामी पनि हराउन सक्छौं भन्ने आत्मबल पलाएको हुन सक्छ। नेपालभन्दा तुलनात्मक रूपमा श्रीलंका बलियो छ। तर, उसको पछिल्लो प्रदर्शन भने सुखद छैन।
प्रतिक्रिया