राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै महिनामा १४० जनाको जटिल आँखाको शल्यक्रिया, अन्य जिल्लाका बिरामीको पनि आकर्षण
दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय आँखाको जटिल रोगको उपचारमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको छ । प्रतिष्ठानका अनुसार गत वैशाख महिनामा मात्रै आँखाको जटिल समस्या भएका १४० जना बिरामीको सफलतापूर्वक शल्यक्रियासहितको उपचार गरिएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख एवं आँखा विभाग प्रमुख सह–प्राध्यापक डा. सुरेश रसाइलीले वैशाख महिनामा १ हजार ४२० जना आँखाका बिरामीको ओपीडी (बहिर्गोग) सेवा मार्फत परीक्षण र उपचार गरिएको जानकारी दिए ।
साँघुरियो काठमाडौँ र भारत धाउनुपर्ने बाध्यता
प्रतिष्ठानले आँखा उपचार सेवामा गुणस्तर बढाएसँगै यहाँ बिरामीको विश्वास र आकर्षण निकै बढेको छ । हाल दाङका स्थानीय मात्र नभई छिमेकी जिल्लाहरू रुकुम, रोल्पा, सल्यान र प्युठानदेखिका आँखाका बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका छन् । जसका कारण यस क्षेत्रका नागरिकले आँखाको जटिल समस्या हुँदा काठमाडौँ वा भारतका विभिन्न अस्पतालसम्म पुग्नुपर्ने सास्ती र महँगो बाध्यता हटेको छ ।
विशिष्टीकृत सेवाहरू विस्तार
आँखा रोग विशेषज्ञ डा. रसाइलीका अनुसार प्रतिष्ठानमा अहिले सामान्य उपचार मात्र नभई विशिष्टीकृत सेवाहरू समेत उपलब्ध हुन थालेका छन् । हाल प्रतिष्ठानमा आँखाको कोटरसम्बन्धी (Oculoplasty) उपचार, आँखाको प्लास्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सरको उपचार जस्ता जटिल सेवाहरू विस्तार गरिएको छ ।
“विगतमा यी सेवाहरू दाङमा उपलब्ध नहुँदा बिरामीहरू काठमाडौँ जानैपर्ने बाध्यता थियो,” डा. रसाइलीले भने, “तर अहिले प्रतिष्ठानले यहीँ स्तरीय सेवा दिन थालेपछि बिरामीहरूका लागि त्यो झन्झटिलो अवस्थाको पूर्ण रूपमा अन्त्य भएको छ ।”









प्रतिक्रिया