ब्रेकिङ: पूर्वमन्त्री दीपक खड्का सीआईबीको फन्दामा, सम्पत्ति शुद्धीकरण र जग्गा विवादमा समातिए
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई आज आइतबार पक्राउ गरेको छ। लामो समयदेखि लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी स्रोतले पुष्टि गरेको छ।
जलेको घरबाट उडेको पैसा र ‘भाइरल’ भिडियो
खड्काको पक्राउको मुख्य कडी २०८२ भदौमा भएको ‘जेनजी (Gen Z) आन्दोलन’ सँग जोडिएको छ। आन्दोलनका क्रममा उनको निवासमा तोडफोड र आगजनी हुँदा घरभित्रबाट ठुलो मात्रामा पैसा उडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। “अवैध रूपमा थुपारिएको पैसा” भन्दै चर्को आलोचना भएपछि उनीमाथि आन्तरिक अनुसन्धान भइरहेको थियो। केही समयअघि गृहमन्त्रीले उनी भारतमा रहेको दाबी गरे पनि खड्काले भने आफू नेपालमै रहेको भन्दै खण्डन गरेका थिए।
राजनीतिक रूपमा पनि कांग्रेस र एमालेका लागि यो समय निकै चुनौतीपूर्ण देखिएको छ। हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटसहित ऐतिहासिक बहुमत हासिल गरेको छ। अर्कातर्फ, कांग्रेस ३८ र एमाले २५ सिटमा खुम्चिएका छन्। संसद्मा बलियो पकड जमाएको रास्वपा सरकारले भ्रष्टाचार विरोधी फाइलहरू धमाधम खोल्न थालेपछि पुराना दलका नेताहरू एकपछि अर्को गर्दै कानुनी दायरामा आउन थालेका छन्।
९३ प्रतिशत जनता ‘खुसी’, ओलीसहित नेताहरू अस्पताल र हिरासतमा
खड्काको पक्राउको खबर सार्वजनिक हुनासाथ अनलाइन सञ्चारमाध्यमहरूमा गरिएको मत सर्वेक्षणमा ९३ प्रतिशत पाठकले ‘खुसी’ व्यक्त गरेका छन्। यता, हिजो पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ भने रमेश लेखक प्रहरी परिसरमै छन्।
कांग्रेसभित्र खैलाबैला, एमालेको विरोध जारी
रमेश लेखक र दीपक खड्का जस्ता प्रभावशाली नेताहरू पक्राउ परेपछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन्। एमालेले भने ओलीको रिहाइको माग गर्दै विरोधका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ। काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडपका घटनाहरू पनि भइरहेका छन्, जसले गर्दा राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।








प्रतिक्रिया