जेनजी आन्दोलनको भयावह तस्बिर: ८४ अर्बको क्षति, १३ सय हतियार लुटिए– राष्ट्रिय सुरक्षामा गम्भीर खतरा!
काठमाडौँ- भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ केवल सडक प्रदर्शनमा मात्र सीमित नभई देशकै भौतिक संरचना र राष्ट्रिय सुरक्षामाथि नै गम्भीर प्रहार भएको तथ्य सार्वजनिक भएको छ। घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा मुलुकले ८४ अर्ब रुपैयाँ भन्दा बढीको भौतिक क्षति व्यहोरेको छ भने सुरक्षा निकायका घातक हतियारहरू समेत लुटिएका छन्।
राष्ट्रिय योजना आयोगको तथ्याङ्कलाई उद्धृत गर्दै जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यसमध्ये सबैभन्दा ठुलो नोक्सानी निजी क्षेत्रले व्यहोर्नुपरेको छ। ८२१ निजी व्यक्ति तथा निकायको मात्रै २२ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति खरानी भएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशले सबैभन्दा बढी ११ अर्ब २ करोडको क्षति व्यहोरेको छ भने कर्णालीमा ७ अर्ब ८१ करोडको नोक्सानी भएको छ। आन्दोलनकारीको निशानामा संघीय मन्त्रालय, अदालत, जिल्ला प्रशासन कार्यालयदेखि राजनीतिक दलका कार्यालयहरू समेत परेका थिए।
हतियार लुटपाट: राष्ट्रिय सुरक्षामा ‘रेड अलर्ट’
भौतिक क्षतिभन्दा पनि डरलाग्दो पक्ष सुरक्षा निकायको हतियार लुटपाट बनेको छ। भदौ २३ र २४ गतेको भिडले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १ हजार ३४२ थान हतियार र १ लाख १८ हजारभन्दा बढी गोलीगट्ठा लुटेको प्रतिवेदनमा उल्लेख छ।
अझै चिन्ताजनक कुरा के छ भने, लुटिएका हतियारमध्ये हालसम्म जम्मा ७४५ थान मात्रै फेला परेका छन्। बाँकी झन्डै ६ सय हतियार र ठुलो संख्यामा गोलीगट्ठा अझै पनि अज्ञात समूहकै हातमा रहँदा राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती खडा भएको छ। खुल्ला सिमानाका कारण यी हतियार तस्करी हुन सक्ने वा अपराधीको हातमा पुग्न सक्ने चेतावनी आयोगले दिएको छ।
आयोगले लुटिएका हतियार फिर्ता गर्ने स्पष्ट कानुनी प्रावधान नभएको औँल्याउँदै ‘हतियार तथा खरखजाना सम्बन्धी कानुन’ संशोधन गर्नुपर्ने सुझाव दिएको छ। आन्दोलनको आवरणमा राज्यको शक्ति र सम्पत्तिमाथि भएको यो स्तरको प्रहारले आगामी दिनमा सुरक्षा रणनीतिमा व्यापक फेरबदल गर्नुपर्ने आवश्यकता देखाएको छ।








प्रतिक्रिया