संसद्‌मा नियम मिचेको भन्दै विपक्षीको नियमापत्ति: प्रधानमन्त्री बालेनको शैलीमाथि एमाले र नेकपाको प्रश्न

काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर प्रतिपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले रोष्टममा उभिएर ‘प्रश्न सोध्नुस्’ भन्दै सांसदहरूलाई कार्यसूची बाहिरबाट आह्वान गरेपछि प्रमुख विपक्षी दलहरूले संसदीय मर्यादा र नियमावली मिचिएको भन्दै सदनमै नियमापत्ति जनाएका हुन्।

प्रधानमन्त्रीको उक्त कदम प्रतिनिधिसभाको स्थापित कार्यविधि विपरीत रहेको दाबी गर्दै विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले नियमापत्ति प्रकट गरेका हुन्। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाउँदै नियमानुसार सदन चलाउन माग गरे।

नियमापत्ति जनाउँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्न सोध्नका लागि नियमावलीले स्पष्ट व्यवस्था गरेको स्मरण गराए। उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि ३ दिन अगावै प्रश्न दर्ता (दर्ज) गर्नुपर्ने अनिवार्य कानुनी प्रावधान रहेकोमा त्यसलाई पूर्ण रूपमा बेवास्ता गरिएको बताए। पूर्वसूचना र स्थापित प्रक्रिया विना नै प्रधानमन्त्रीले सिधै रोष्टमबाट प्रश्न सोध्न आग्रह गर्नुले संसद्को कार्यविधि र संविधानकै ठाडो मिचाहा प्रवृत्तिलाई प्रश्रय दिएको प्रतिपक्षको ठहर छ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रश्न सोध्न सक्ने स्पष्ट कानुनी मार्गचित्र रहेको उल्लेख गर्दै दुलालले कार्यसूची बाहिर गएर आकस्मिक रूपमा प्रश्नोत्तर गराउन खोजिनु गलत भएको टिप्पणी गरे।

त्यस्तै, एमालेका प्रमुख सचेतक ऐन महरले पनि नियमावलीको धारा ५६ (नियम ५६) लाई नै आधार मान्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए। महरले संसद् निश्चित विधि, कानुन र कार्यसूचीका आधारमा चल्ने संस्था भएकाले यसको गरिमालाई सस्तो लोकप्रियताका लागि दाउमा राख्न नहुने जिकिर गरे।

विपक्षी दलहरूले नियम र प्रक्रिया मिचेर संसद् चलाउने प्रयास गरिए आगामी बैठकहरूमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस घटनाले संसद्‌मा सरकार र प्रतिपक्षबिचको असमझदारीलाई थप बढाएको छ।

प्रतिक्रिया

TOP