स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न ‘लिडरसीप एकेडेमी’को कोर्ष अनिवार्य: गगन थापा

काठमाडौँ-नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्नका लागि ‘लिडरसीप एकेडेमी’को कोर्ष पूरा गर्नु अनिवार्य हुने बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले उक्त कोर्ष पूरा नगरेका नेताहरूलाई उम्मेदवार नबनाइने प्रष्ट पारेका हुन् ।

पार्टीले नेतृत्व विकासका लागि छुट्टै युनिटका रूपमा ‘लिडरसीप एकेडेमी’ स्थापना गरेको जानकारी दिँदै थापाले केही दिनभित्रै यसका लागि खुला आह्वान गरिने समेत बताए ।

कोर्ष पूरा गरेपछि मात्रै योग्यता पुग्ने

सभापति थापाले देशैभरका ७५३ वटै स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचन लड्न आकांक्षी रहेका पुराना तथा नयाँ सबै नेताहरूले एकेडेमीमा भर्ना हुनैपर्ने नियम ल्याइएको बताए । “७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ, कोही दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्ष पूरा गर्नैपर्छ,” उनले भने, “त्यो कोर्ष पूरा गरिसकेपछि मात्रै उम्मेदवारका लागि योग्यता पुग्नेछ ।”

कम्तीमा १०० पालिकामा महिला प्रमुख उठाइने

नेपाली कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा महिला नेतृत्वलाई विशेष प्राथमिकता दिने रणनीति बनाएको छ । सोही अनुरूप कुल पालिकामध्ये कम्तीमा १०० वटा पालिकामा मेयर वा अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाउने पार्टीको तयारी रहेको थापाले खुलासा गरे । उनले यो लक्ष्य भेट्टाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलाहरूलाई एकेडेमीको कोर्षमा भर्ना गराउन आवश्यक रहेकोमा जोड दिए ।

“मैले यहाँ बोलिदिएर मात्रै भैहाल्ने होइन, यसका लागि अहिलेदेखि नै सबै लाग्नुपर्छ, मेहनत गर्नुपर्छ र काम गर्नुपर्छ,” थापाले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने ।

निर्वाचनको आन्तरिक तयारी र रणनीतिका लागि पार्टीले ‘इलेक्सन ब्युरो’ गठन गरिसकेको र त्यसको नेतृत्व नेता पुष्पा भुसालले गरिरहेको समेत उनले जानकारी दिए । कांग्रेस यसपटक सामाजिक र सामुदायिक हिसाबले पनि बढीभन्दा बढी समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन मैदानमा उत्रिने दाबी सभापति थापाले गरे ।

प्रतिक्रिया

TOP