कांग्रेसभित्र भागबन्डाको रस्साकस्सी: ६०-४० को मोडल ब्युँताउन देउवा र कोइराला पक्षको दबाब
काठमाडौँ- नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलन मिलाउन ‘६०-४० प्रतिशत’ को पुरानो भागबन्डाको मोडल ब्युँताउन पूर्वसभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला समूहले संस्थापन पक्षमाथि दबाब बढाएका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने फैसला सुनाएपछि यी दुई समूहले १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई ६०-४० प्रतिशतको अनुपातमा समायोजन गर्नुपर्ने माग अघि सारेका हुन्। कांग्रेसमा वि.सं. २०६४ मा पार्टी एकीकरण हुँदा र त्यसपछिका विभिन्न कालखण्डमा सत्ता, टिकट वितरण र मनोनयनमा ६० र ४० प्रतिशतको भागबन्डा गर्ने परम्परा रहँदै आएको थियो।
यस पटक भने तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा गत पुसमा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि पार्टीको विवादले नयाँ मोड लिएको छ। संस्थापन पक्ष भने भागबन्डाको पुरानो संस्कृति अन्त्य गर्दै सय प्रतिशतको एकीकृत कांग्रेस बनाउने अडानमा छ।
सभापति गगन थापाले हालै देउवा र कोइराला पक्षसँग परामर्श नगरी केन्द्रीय सदस्यहरू मनोनयन गरेपछि इतर पक्ष असन्तुष्ट बनेको छ। देउवा पक्षधर नेता पूर्णबहादुर खड्काले पार्टी एकताको साँचो सभापति थापाकै हातमा रहेको र ढिलाइ भए पार्टी विभाजनको डिलमा पुग्ने चेतावनी दिएका छन् भने देउवा पक्षले देशैभर प्रदेशस्तरीय भेला र प्रशिक्षण गर्दै समानान्तर महाधिवेशन गर्ने तयारी समेत गरिरहेको छ।
दुई दशक पुरानो एकताको मोडल अपनाएर पदाधिकारी थप गरी केन्द्रीय कार्यसमिति समायोजन गर्नुपर्ने देउवा पक्षका नेता श्याम घिमिरेको तर्क छ। यता उपसभापति विश्वप्रकाश शर्माले भने एकताका नाममा ६०-४० को भागबन्डा नहुने स्पष्ट पार्दै विशेष महाधिवेशन बाहिर रहेका नेताहरू भीष्मराज आङ्देम्बे, जीवन परियार र महेन्द्र यादवलगायतलाई जिम्मेवारी दिई समेट्ने काम सुरु भइसकेको दाबी गरेका छन्।
नेता शेखर कोइराला भने समानान्तर गतिविधि र भेलाहरूको विपक्षमा उभिएका छन्। आगामी १६-१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा पुरानो शक्ति केन्द्रलाई बाहिर राखेर चुनावमा जाँदा क्षति पुग्ने भन्दै पार्टीभित्र सम्मानजनक एकता र समायोजनका लागि दबाब दिने क्रम तीव्र बनेको छ।








प्रतिक्रिया