रास्वपाको निर्णायक बैठक शुक्रबार: बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् बन्ने पक्का

काठमाडौं-मुलुककै सबैभन्दा ठुलो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब औपचारिक रूपमा सरकार गठनको निर्णायक छलफलमा जुटेको छ। प्रत्यक्ष र समानुपातिकतर्फका सबै नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण तालिम दिएलगत्तै रास्वपाले शुक्रबारका लागि मन्त्रिपरिषद्को स्वरूप तय गर्न निर्णायक बैठक बोलाएको छ। १८२ सिटसहित अभूतपूर्व सफलता हासिल गरेको रास्वपाले संविधानको धारा ७६(१) बमोजिम एकल बहुमतको सरकार बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

सरकारको नेतृत्व गर्ने तयारीमा रहेका वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो मन्त्रिपरिषद्मा रहने सदस्यहरू आफैँले छान्न पाउनुपर्ने अडान राखेका छन्। पार्टी र सङ्गठन सञ्चालनमा सभापति रवि लामिछानेलाई पूर्ण अधिकार दिने तर सरकार सञ्चालनमा भने आफ्नो निर्णय अन्तिम हुनुपर्ने शाहको भनाइ छ। यसले मन्त्रिपरिषद् गठनमा शाहकै रोजाइ हाबी हुने देखिएको छ। शुक्रबार बस्ने पदाधिकारी बैठकमा सभापति लामिछाने, नेता शाह र उपसभापतिसहितका शीर्ष नेताहरूले मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने एक नेताले पुष्टि गरे।

रास्वपाले यसपटक ‘विज्ञता’ लाई मन्त्री चयनको मुख्य आधार बनाउने भएको छ। गृह मन्त्रालयमा उपसभापति डिपी अर्याल र अर्थ मन्त्रालयमा अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम लगभग निश्चित भइसकेको स्रोतको दाबी छ। यद्यपि, संसद्मा प्रवेश गरेका अधिकांश सदस्यहरू विषय विज्ञ रहेकाले एउटै मन्त्रालयमा पाँच जनासम्मको दाबी देखिएको छ। पहिलो चरणमा जनअपेक्षा सम्बोधन गर्ने गरी बढीमा १५ सदस्यीय चुस्त मन्त्रिपरिषद् बनाउने रास्वपाको योजना छ।

संवैधानिक प्रक्रिया अनुसार, निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाइसकेकाले अब सरकार गठनको बाटो खुलेको छ। वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार संविधानको धारा ७६(१) बमोजिम बन्ने यो एकल बहुमतको सरकारले संसद्मा विश्वासको मत समेत लिनु पर्दैन। रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेलगत्तै राष्ट्रपतिले उनलाई सिधै प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक आधार छ। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनपछि मुलुकले नयाँ सरकार पाउने निश्चित छ।

प्रतिक्रिया

TOP