संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्दै: राष्ट्रपतिले आज निर्वाचन प्रतिवेदन बुझ्ने
काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको प्रतिवेदन बुझाउँदै छ। यो प्रतिवेदन बुझाएसँगै मुलुकमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया विधिवत् रूपमा अघि बढ्ने देखिएको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटसहित करिब दुई तिहाइ बहुमत हासिल गरेको छ। अन्य दलहरूमध्ये नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट प्राप्त गरेका छन् भने एक जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्।
नेपालको संविधानको धारा ७६ (१) अनुसार अब राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा होमिएको थियो र अहिले उनलाई नै संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको छ। संविधान जारी भएयता पहिलोपटक कुनै एकल दलले स्पष्ट बहुमत प्राप्त गरेकाले धारा ७६ (२) को संयुक्त सरकारको विकल्पमा जानु नपर्ने कानुनी विज्ञहरूको विश्लेषण छ।
सङ्घीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी थालेको छ। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार नयाँ संसद्को बैठकको तयारी भइरहेको छ। संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र त्यसको सात दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। विशेष कुरा के छ भने, अबको नयाँ संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्ने तय भएको छ।








प्रतिक्रिया