रास्वपामा ‘गणेश’ को बाहुल्य: एउटै नामका ५ सांसद, संसदमा बोलाउँदा कसले भन्ला ‘हजुर’?
काठमाडौँ – भनिन्छ, कुनै पनि शुभ कार्यको सुरुवात ‘गणेश’ को आराधनाबाट गरिन्छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि भने यो उखान मात्र रहेन, एउटा निकै रोचक संयोग नै बनेको छ। भर्खरै सम्पन्न निर्वाचनको परिणाम हेर्दा रास्वपाबाट संसद् छिर्ने सांसदहरूको सूचीमा एउटै नामका ५ जना व्यक्ति भेटिएका छन्— ती सबैको नाम हो, ‘गणेश’।
नेपाली राजनीतिमा एउटै दलभित्र एउटै नामका दुई–तीन जना नेता हुनु सामान्य मानिए पनि, प्रत्यक्षतर्फ नै ५ जना ‘गणेश’ हरूले चुनाव जितेर आउनुलाई राजनीतिक वृत्तमा निकै रमाइलो र दुर्लभ संयोगका रूपमा हेरिएको छ।
को–को हुन् ती ५ गणेश?
रास्वपाको ‘गणेश’ टोलीमा मोरङदेखि रौतहटसम्मका हस्तीहरू समावेश छन्। मोरङ–३ बाट गणेश कार्कीले सानदार जित निकाल्दा, काठमाडौँ–७ बाट गणेश पराजुलीले आफ्नो उपस्थिति जनाएका छन्। त्यस्तै, पर्यटकीय नगरी पोखरा रहेको कास्की–१ बाट गणेश पौडेल निर्वाचित भएका छन्। तराईको बारा–१ बाट गणेश धिमाल र रौतहट–४ बाट अर्का गणेश पौडेलले जितको झण्डा गाडेका छन्।
संसद्मा कस्तो होला दृश्य?
अब संसद्को बैठकमा जब सभामुखले ‘माननीय गणेशज्यू’ भनेर सम्बोधन गर्नेछन् वा हाजिर पुस्तिकामा ‘गणेश’ नाम देखिनेछ, तब यी ५ मध्ये कसले पहिले ‘हजुर’ भन्लान् वा कसको पालो होला भन्ने कौतूहल अहिलेदेखि नै सुरु भएको छ। एउटै नाम भएका कारण संसद्का कर्मचारीहरूलाई पनि रेकर्ड राख्न र परिचय खुलाउन अलि बढी मेहनत गर्नुपर्ने देखिन्छ।
विशेषगरी दुई जना ‘गणेश पौडेल’ (कास्की र रौतहट) भएका कारण उनीहरूलाई त थरले मात्र पनि छुट्ट्याउन सकिने छैन, निर्वाचन क्षेत्र नै उल्लेख गर्नुपर्ने बाध्यता हुनेछ।
शुभ सङ्केत कि संयोग?
रास्वपाका समर्थकहरूले यसलाई ‘शुभ सङ्केत’ का रूपमा व्याख्या गर्न थालेका छन्। सामाजिक सञ्जालमा त कतिपयले “रास्वपाले संसद्मा गणेशको शक्ति प्रदर्शन गर्दैछ” भन्दै ठट्टा समेत गर्न भ्याएका छन्।
परिवर्तनको नारा लिएर उदाएको नयाँ दलमा यसरी एउटै नामका ५ जना ऊर्जावान् युवाहरू संसद् पुग्नुले आगामी संसदीय यात्रामा एउटा फरक र रोचक रौनक थप्ने निश्चित छ। हेरौँ, यी ५ ‘गणेश’ हरूले संसद्मा जनअपेक्षा पूरा गर्न कस्तो भूमिका खेल्नेछन्?








प्रतिक्रिया