काठमाडौं महानगरपालिकामा वायु गुणस्तर मापन उपकरण जडान सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र वायु गुणस्तर मापन गर्न १८ स्थानमा विशेष उपकरण जडानको सुरुवात गरेको छ। यो परियोजना पार्टनरसिप फर हेल्दी सिटिजको सहकार्यमा अघि बढाइएको हो। सोमबार एक औपचारिक कार्यक्रमका बिच उपकरण जडानको सुरुवात महानगर कार्यालय भवन अगाडि उपमेयर सुनिता डंगोलले गरेकि हुन् ।

उपमेयर डंगोलले भनिन् , “वास्तविक समयको डेटा प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगर प्रतिबद्ध छ। वायु प्रदूषण नियन्त्रणका लागि हामीले चलाइरहेका कार्यक्रमहरूको प्रभावकारिता मापन गर्न तथ्यमा आधारित प्रमाण अत्यावश्यक छ। यी उपकरणहरूले त्यसका लागि ठोस तथ्यांक उपलब्ध गराउनेछन्।”

महत्वपूर्ण स्थानहरूमा उपकरण जडान

  • वडा नं. १७ को छत्रपाटी निःशुल्क चिकित्सालय
  • वडा नं. २६ को शान्ति विद्यालय, लैनचौर
  • बालाजु, बाइसधारा उद्यान
  • परोपकार स्त्री तथा प्रसूति अस्पताल, थापाथली
  • चक्रपथको ठुलो भ¥याङ
  • पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल
  • रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वर
  • अन्य १० स्थान

स्थानीय र संस्थागत सहकार्य

काठमाडौं महानगरपालिकासङ्ग सहकार्य गर्दै यो परियोजनाको स्थानीय साझेदार संस्थाका रूपमा राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपाल (NFYN) रहेको छ। महासंघले आफ्नो स्थापना कालदेखि नै जलवायु परिवर्तन, वातावरण संरक्षण,स्वास्थ्य,शिक्षा ,दिगो विकास, विपद् न्यूनीकरण, र युवा सशक्तीकरणजस्ता क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ।

महासंघका अध्यक्ष तथा अधिवक्ता शशि शर्मा मजगैयाँले भने, “वास्तविक डेटा उपलब्ध गराउने यी उपकरणले दीर्घकालीन र स्थायी नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउँछन्। वायु प्रदूषण नियन्त्रणमा काठमाडौँ महानगरको यो पहल प्रशंसनीय छ।” उनले थपे, “यस परियोजनाले काठमाडौँ महानगर र सरोकारवालाहरूलाई अझ जिम्मेवार बनाउँदै दिगो वातावरणीय सुधारतर्फ बलियो आधार प्रदान गर्नेछ।”

महानगर प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा बोल्दै भने, “समुदायमा आधारित कार्यक्रमहरू प्रभावकारी बनाउँदा परिणामलाई दीर्घकालीन र दिगो बनाउन सकिन्छ।”

वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले लैनचौरस्थित शान्ति विद्यालयमा आयोजित कार्यक्रममा भने, “यी मापन उपकरणहरूले उपलब्ध गराउने तथ्यांकले महानगरका नागरिकलाई सचेत बनाउन र वातावरणीय जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्नेछन्।”

महानगरको प्रतिबद्धता

वास्तविक तथ्यांकमा आधारित नीतिहरू तयार गरी स्वस्थ वातावरण सुनिश्चित गर्ने महानगरको प्रतिबद्धता पुनः दोहोर्याइएको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन् , “महानगरले छिट्टै सवारी साधन प्रदूषण जाँच अभियान सुरु गर्दैछ। वायु प्रदूषण न्यूनीकरणका लागि अन्य प्रभावकारी कार्यक्रमहरू पनि अघि बढाइनेछ।”

वैश्विक महत्वको परियोजना

यो परियोजना पार्टनरसिप फर हेल्दी सिटिजको एक हिस्सा हो, जसले नसर्ने रोग र चोटपटक रोकथामका माध्यमबाट जीवन जोगाउन ७० भन्दा बढी शहरहरूको वैश्विक सञ्जाल निर्माण गरेको छ। यसमा विश्व स्वास्थ्य संगठन (WHO), ब्लुमबर्ग फिलान्थ्रोपिज,भाइटल स्ट्राटेजिज र अन्य साझेदार संस्थाहरूको प्रत्यक्ष सहयोग रहेको छ।

वायु प्रदूषणको प्रभाव र समाधान

पीएम २.५ कणहरू सजिलै फोक्सो र रक्तप्रवाहमा पुग्ने भएकाले श्वासप्रश्वास र हृदय रोगजस्ता दीर्घरोग उत्पन्न गर्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पीएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हुनु आवश्यक छ।

काठमाडौँ महानगरपालिकाले पुस महिनालाई “वायु प्रदूषण सचेतना महिना” को रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। पार्क तथा हरियाली प्रवर्द्धन, कार-फ्रि कार्यक्रम, र फोहोर व्यवस्थापनमा समुदायलाई सहभागी गराउने प्रयास महानगरका प्राथमिकतामा छन्।

दिगो नीतिका लागि कदम

महानगरको वातावरणीय सुधारका लागि यी उपकरणहरूले वास्तविक समयको जानकारी उपलब्ध गराउने भएकाले दीर्घकालीन र वैज्ञानिक कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

महासङ्घका केन्द्रीय अध्यक्ष शशि शर्मा मजगैयाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण परियोजना प्रमुख इन्जिनियर सन्जिब पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

TOP