रबि लामिछाने क्लबबाट पार्टी हाइज्याक भयो :मुकुल ढकाल

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित डा‍.मुकुल ढकालले रबि लामिछाने क्लबबाट रास्वपा पार्टी हाइज्याक भएको बताएका छन् । पार्टीमा मनोमानी गरेको र आफ्नो क्लब जस्तो बनाएको भन्दै लामिछाने क्लबले पार्टीलाई हाइज्याक गरेको भएपनि आफुले इमानदारीपूर्वक सुशासनको घण्टी बाजाइराख्ने पनि बताएका छन् । उनले आफ्नो निलम्बन प्रक्रिया पनि अवैधानिक भएकाले हाल आफू नै पार्टीको महामन्त्री तथा प्रवक्ता भएको दाबी समेत गरेका छन्। यसका साथै सहकारी ठगी प्रकरणमा पार्टीका सभापति लामिछानेमाथि पार्टीभित्रै पनि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्रैबाट समिति गठन गरी छानबिन गर्नुपर्ने बताएका हुन्। उक्त समितिमा रहने व्यक्‍तिहरू पनि लाइभ प्रक्रियाबाट छनौट गर्नुपर्ने उनको माग छ।

‘उच्चस्तरीय स्‍वतन्त्र छानबिन समिति गठन हुनुपर्यो। रवि लामिछाने सहकारी ठगीमा संलग्न छन् वा छैनन् त्यसका लागि पार्टी भित्रबाट समिति बनाउनुपर्छ,’ उनले भने, ‘त्‍यो समितिमा जो स्वतन्त्र व्यक्तिहरू हुन्छन् त्यो रवि लामिछानेको पकेटबाट होइन। लाइभ माध्यमबाट जसरी राजदूत छनौटको प्रक्रिया हामीले निर्धारण गरेका थियौं त्यसरी नै प्रक्रिया निर्धारण गरेर स्वतन्त्र व्यक्तिहरूलाई छनौट गर्नुपर्‍यो।’

सर्वोच्च अदालतले गत बिहीबार गरेको फैसलाबारे पनि उनले बताएका छन्। फैसलाले लामिछानेमाथि छानबिन हुनुपर्ने एकमतको फैसला दिएको उनले बताए।

राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा न्यायाधीश सपना प्रधान मल्लले नैतिक विषय भएको र सारंगा सुवेदीले राजीनामा दिनुपर्ने भन्नेमा मात्रै राय बाझिएको बताए।

‘सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्छ भनेर भनेको छ। व्यक्‍तिको नैतिक चरित्रको कुरामा मत बाझिएको हो। त्यही कुरामा मात्रै राय फरक भएको हो,’ उनले भने।

लामिछानेले राहदानी पनि दुई वटा बनाएको उनको आरोप छ।

‘उहाँको दुई वटा पासपोर्ट छ। फेरि आज आएर किन आरोप लगाइस् भनेर भन्नुहोला। उहाँको दुईटा पासपोर्ट हुँदा आम नेपाली सरह विदेश जानुभयो। विदेश जाँदा विधि, पद्धति, प्रक्रिया जान्नुभएन होला। नजानेको कारणले दुई वटा हुन पुग्यो। कानुनी रूपमा गल्ती गर्नुभयो। तर राजनीतिक रूपमा गल्ती छैन। यो मान्छेलाई जोगाउनुपर्छ भन्ने तरिकाले म लागेँ,’ उनले भने।

प्रतिक्रिया

TOP