वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सात वर्ष कैद

काठमाडौं-वैवाहिक बलात्कार  मुद्दामा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीको सजाय तोकेको हो।

यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर  गरेको थियो। सजाय निर्धारणाका लागि भने आजको पेसी तोकिएको थियो।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । अदालतले जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ ।  सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीविरुद्ध प्रहरीमा जाहेरी  परेको थियो।जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया

TOP