विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
काठमाडौं-दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले मंगलबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । अमेरिकाको डालासमा नेपाली समय अनुसार राति ९ः१५ बजे खेल हुनेछ । यी दुबै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । नेपालको समूहमा टेस्ट्र खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
नेपालको तुलनामा नेदरल्यान्ड्सको विश्वकपमा अनुभव धेरै छ । उसको यो छैटौँ विश्वकप सहभागिता हो । नेपालले सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको थियो । त्यसवेला नेपालले हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो । पछिल्लो समय नेपाली टोलीमा देखिएको लयले नेदरल्यान्ड्सलाई दबाब बनाउनेछ । नेपालका कप्तान रोहितकुमार पौडेलले जितको रणनीतिका साथ प्रतिस्पर्धा गर्ने बताए ।
‘लामो समयदेखि हामीले तयारी गरिरहेका छौँ । पहिलो खेल सानदार बनाउन चाहन्छौँ,’ डालासमा उनले अन्तर्राष्ट्रिय एजेन्सीलाई भने, ‘हामीले विश्वकपमा देखाउने समय आएको छ । सबै खेलाडी उच्च मनोबलका साथ खेल्नेमा विश्वस्त छौँ ।’ नेपालले पछिल्लो पाँच टी–२० खेलमध्ये साउदी अरेबिया, हङकङ र कतारलाई हराएको थियो । हङकङ र युएईसँग नेपाल पराजित भएको थियो । नेदरल्यान्ड्सले पछिल्लो भेटमा नेपाललाई चार विकेटले हराएको थियो ।
नेदरल्यान्ड्सविरुद्ध पछिल्लो भेटमा ओपनर आसिफ सेखले ४७ बनाएका थिए । योपटक प्रतिश जिसीको स्थानमा अभिनाश बोहराले स्थान लिन सक्छन् । प्रशिक्षक मोन्टी देसाईले ओपनिङमा आसिफ सेख र कुशल भुर्तेललाई पहिलो प्राथमिकतामा राखेका छन् । तेस्रो नम्बरमा अनिलकुमार शाह र चौथोमा कप्तान रोहितले ब्याटिङ गर्ने सम्भावना छ । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले मध्यक्रम सम्हाल्नेछन् । अलराउन्डतर्फ सोमपाल कामी र करण केसी छन् । स्पिनर विशेषज्ञ ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना छ ।
विश्वकपमा नेपालको प्रदर्शन
विश्वकपमा नेपालले हालसम्म तीन खेल खेलेको छ । जसमा दुई खेल जित्दा एक खेलमा हार व्यहोरेको थियो । सन् २०१४ को विश्वकपमा नेपाल झिनो रनरेटमा बंगलादेशसँग पछि पर्दा शीर्ष दशमा स्थान बनाउन चुकेको थियो । विश्वकपको डेब्यु खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो । बंगलोदशसँग भएको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भयो । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराएको हो ।
प्रतिक्रिया