युवा परिचालनका लागि तीन अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं-युवा लक्षित कार्यक्रम भएनन् भन्ने व्यापक गुनासोका बिच सकारले आर्थिक वर्ष २०८१/८२ मा युवा परिचालन कार्यक्रम सञ्चालन गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा युवाको क्षमता अभिवृद्धि गरी उत्पादनमूलक क्षेत्रमा समाहित गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

युवा परिचालन कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि, पशुपक्षी फर्म, होटल, पर्यटन, निर्माणलगायतका क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उल्लेख छ ।

यसैगरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

TOP