कांग्रेसले असभ्यताको पराकाष्ठा नाघिसक्यो:एमाले अध्यक्ष ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्यताको पराकाष्ठा नाघेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको र लोकतान्त्रिक मुल्य र मान्यतालाई नाङ्गो बनाएको र असभ्य बनेको बताएका हुन् ।
उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’
अध्यक्ष ओलीले कांग्रेसका सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेकोसमेत बताए ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले वेल घेराउ गरेको थियो । गृहमन्त्री रोष्ट्रममा जान नपाएपछि अध्यक्ष ओली आफैंले गृहमन्त्रीलाई रोष्ट्रममा जान इसारा गरेका थिए ।
ओलीको इसारापछि कांग्रेस उपसभापति धनराज गुरुङले उनको नजिकै पुगेर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए ।
प्रतिक्रिया