एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै:हिजो के भने माधवकुमार नेपालले
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार बस्नेगरी शनिबार स्थगित गरिएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आइतबार ११ बजे बस्नेगरि शनिबारको बैठक सकिएको हो उनलेे भने ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएको पनि उपमहासचिव खतिवडाले जानकारी दिए।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थिए भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नेछन् ।
स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए। सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ।
प्रतिक्रिया