नयाँ सरकारले ‘जेनजी’का माग पूरा गर्नुपर्छ, पालना नभए सडकबाटै खबरदारी गर्छौँ: गृहमन्त्री अर्याल
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा अब बन्ने नयाँ जनादेश प्राप्त मजबुद सरकारले ‘जेनजी’ (पछिल्लो पुस्ता) का मागहरूलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नयाँ सरकारका लागि युवा पुस्ताका मुद्दाहरू प्राथमिकतामा पर्नुपर्ने र यदि माग पूरा नभए आफ्नो समूहले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिए।
गृहमन्त्री अर्यालले आफ्नो राजनीतिक पृष्ठभूमि सडक संघर्षबाटै सुरु भएको स्मरण गर्दै सरकारबाट बाहिरिएपछि पनि आफूहरू जनताकै माझमा रहने स्पष्ट पारे। “हामी हिजो पनि सडकमा थियौँ। परिस्थितिवश कोही सरकारमा सहभागी भयौँ त कोही बाहिरै रह्यौँ,” उनले भने, “अहिले सरकारमा रहेका हामीहरू भोलि फर्कने ठाउँ भनेकै सडक हो। सडकमा रहँदा हामी सरकारलाई रचनात्मक सहयोग पनि गर्छौँ र चित्त नबुझेका कुरामा निरन्तर खबरदारी पनि गरिरहनेछौँ।”
जेनजी पुस्ताले सुशासन, भ्रष्टाचारको अन्त्य र चुस्त सेवा प्रवाहका लागि आन्दोलन गरेको उल्लेख गर्दै मन्त्री अर्यालले ती मुद्दाहरू अब छिट्टै संस्थागत हुने विश्वास व्यक्त गरे। युवाहरूको यो स्वस्फूर्त आन्दोलनले राज्य संयन्त्रलाई जिम्मेवार बनाउन ठूलो भूमिका खेलेको र अब आउने नेतृत्वले यसलाई बेवास्ता गर्न नमिल्ने उनको तर्क थियो।
यसैगरी, जेनजी आन्दोलनका क्रममा भएको दमन र घटनाहरूको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक हुने उनले जानकारी दिए। आयोगले प्रतिवेदन बुझाउनासाथ वर्तमान सरकारले त्यसको कार्यान्वयनको प्रक्रिया सुरु गर्ने उनले बताए। “आयोगको प्रतिवेदन प्राप्त भएपछि यो सरकारले कार्यान्वयनको थालनी गर्नेछ,” अर्यालले थपे, “त्यसपछि आउने नयाँ सरकारले पनि प्रतिवेदनका सुझावहरूलाई पूर्ण रूपमा लागू गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”
गृहमन्त्रीले नयाँ बन्ने सरकारका लागि सुशासन र जनआकांक्षा पूरा गर्नु नै मुख्य चुनौती र अवसर दुवै रहने औंल्याए। उनले नागरिकका न्यायपूर्ण मागहरूलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर सम्बोधन गर्नुपर्नेमा जोड दिए।








प्रतिक्रिया