३६ वर्षका ‘कान्छा’ प्रधानमन्त्रीको ऐतिहासिक शपथ, ओलीलाई ४९ हजार मतान्तरले हराउँदै सिंहदरबार इन्ट्री
काठमाडौँ- नेपाली राजनीतिमा २१९ वर्ष लामो सत्ताको परम्परागत विरासत आज विधिवत् रूपमा बदलिएको छ। र्यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र (बालेन) शाहले नेपालको ४१ औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ३६ वर्षको उमेरमा देशको सर्वोच्च कार्यकारी पद सम्हाल्दै उनी नेपालको इतिहासकै सबैभन्दा कान्छा ‘जननिर्वाचित’ प्रधानमन्त्री बनेका छन्।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट ऐतिहासिक जित दर्ता गरेका थिए। उनले पूर्वप्रधानमन्त्री ओलीलाई ४९ हजार ६१४ मतको विशाल अन्तरले पराजित गर्दै सबैलाई स्तब्ध बनाए। बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओली मात्र १८ हजार ७३४ मतमा खुम्चिएका थिए, जसले देशमा नयाँ राजनीतिक शक्तिको उदय भएको प्रस्ट पारेको छ।
राम नवमीको पावन अवसर पारेर आज दिउँसो १२:३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्। शपथ समारोहमा १०८ जना बटुकहरूले स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्टमङ्गल पाठ र ७ वटा शङ्खको शङ्खनाद गरिएको थियो। सनातन वैदिक र बौद्ध परम्पराको यो समिश्रणले शीतल निवासमा एक किसिमको आध्यात्मिक र नयाँ ऊर्जा सञ्चार गरेको थियो।
बालेनको यो नियुक्तिसँगै नेपालमा वर्षौँदेखि कायम रहेको निश्चित समुदायको शासन सत्ताको वर्चस्व पनि तोडिएको छ। मधेसी मूलबाट नेपालको प्रधानमन्त्री बन्ने बालेन पहिलो व्यक्ति हुन्। यसअघि भीमसेन थापादेखि सुरु भएको प्रधानमन्त्रीको शृङ्खलामा ४० जनामध्ये अधिकांश एउटै पृष्ठभूमिबाट थिए। बालेनको उदयलाई नेपालको समावेशी लोकतन्त्रको एक महत्त्वपूर्ण फड्कोका रूपमा हेरिएको छ।
पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। २०७२ को भूकम्पपछि स्वयंसेवी रूपमा नक्सा बनाउने कार्यमा सक्रिय उनी सानैदेखि सङ्गीत र कवितामा रुचि राख्थे। २०६९ मा ‘सडक बालक’ गीतबाट र्याप यात्रा सुरु गरेका उनले आज देशको ‘राजनीतिक स्ट्रक्चर’ नै परिवर्तन गर्ने जिम्मेवारी पाएका छन्।
५२ वर्षपछि युवा नेतृत्वको पुनरागमन नेपालको इतिहासमा ३१ वर्षमा जंगबहादुर राणा र ३३ वर्षमा तुलसी गिरी प्रधानमन्त्री बने पनि ती पदहरू निर्वाचनमार्फत प्राप्त भएका थिएनन्। बालेनको विजयसँगै देशले ५२ वर्षपछि ४० वर्ष मुनिको युवा नेतृत्व पाएको छ। ७४ वर्षका पाका नेताहरूले शासन गरिरहेको परिवेशमा ३६ वर्षे युवाले सिंहदरबारको साँचो सम्हाल्नुले नयाँ पुस्तामा ठुलो आशा र उत्साह जगाएको छ।








प्रतिक्रिया